• मंसिर १३ २०८१, बिहीबार

चार करोडको ‘फ्लड लाइट’ कसरी भयो ‘फ्रड लाइट’ !

पुष २५ २०७८, आईतवार

काठमाडौं । ‘खोजी गरे भेटिन्छ, कार्वाही गरे चेतिन्छ’ भन्थे बूढापाकाहरु ! आखिर साँचो रहेछ । प्रदेश नम्बर १ को विकास निर्माणका काममा केही समस्या देखिएपछि सुरु गरिएको सुपरीवेक्षण तथा अनुगमनका क्रममा त्यहाँको सहिद रंगशालामा जडान गरिएको चार करोडको फ्लड लाइट नबल्ने अबस्थामा रहेको भेटिएको छ ।

अघिल्लो वर्ष प्रदेश नम्बर–१ सरकारको सामाजिक विकास मन्त्रालयले रंगशालामा लाइट जडान गर्न पाँच करोड बजेट दिएको थियो । विराटनगर महानगरपालिकाले समेत फ्लड लाइट जडानका लागि दुई करोड रुपैयाँ दिने घोषणा गरेको थियो ।

यो कार्य सम्पन्न गर्नका लागि फ्लड लाइटदेखि सम्पूर्ण सामग्री र सोको प्राविधिक जडानका लागि म्यान पावर भारतबाट झिकाइएको थियो । ठेक्का पट्टा सम्झौता चाहिं सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभीबीच भएको थियो ।

३२ देखि ३५ मिटरसम्मको उचाइको हरेक फ्लड लाइट फ्रेममा एक हजार वाटका २७ वटा बत्ती जडान गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो । ३३ मिटरका चारवटा पोल रंगशालाको चारैतिर ठड्याएर १०८ वटा लाइट जडान गरिएको थियो ।

यसका निम्ति चार करोड २९ लाख रुपैयाँ खर्च गरिएको थियो । अनुगमनपछि सामाजिक विकास मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पोखरेलले रंगशालाका फ्लड लाइटले काम गर्न छाडेको कुरा मन्त्रालयमा जानकारी भैसकेको बताएका छन् ।

पोखरेल भन्छन्– ‘सूचना भएपछि हामीले तुरन्त गएर निरीक्षण पनि गरिसकेका छौँ, समस्या आएको साँचो हो, अहिले त्यसका लागि मर्मत गराउन ठेकेदार कम्पनीसँग छलफल पनि भैसकेको छ ।’

यसका पछाडिका कारणहरुमा हाइभोल्टेज बिजुली प्रवाह, कमसल मालसामानको प्रयोग वा अन्य प्राविधिक खराबी पनि हुन सक्छन् भनिएको छ । ठेकेदार कम्पनीले यसको मर्मत थालेपछि कारण पत्ता लाग्ने देखिन्छ । तर आमजनता भने करोडौं खर्च गरिएको फ्लड लाइट एक वर्षभित्रै कसरी फ्रड (नक्कली) लाइटमा परिणत हुन पुग्यो भन्दै आश्चर्य व्यक्त गरिरहेका छन् ।