• मंसिर ८ २०८१, शनिबार

एलन मस्कको भारतस्थित स्टारलिंकका प्रमुखद्वारा राजीनामा

पुष २३ २०७८, शुक्रबार

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको भारतस्थित स्टारलिंकका प्रमुख सञ्जय भार्गभले राजीनामा दिएका छन् । केही समय अघि मात्र नियुक्त भएका भार्गभले राजीनामा दिएपछि भारतमा मस्कलाई ठूलो झट्का लाग्न पुगेको छ ।

मस्कको स्याटेलाइट इन्टरनेट कम्पनी स्टार लिंकका भारतीय प्रमुख भार्गभले पदबाट राजीनामा दिएपछि स्टारलिंक संकटमा परेको छ । अहिले भार्गभले अचानक कम्पनीबाट राजीनामा किन दिए भन्ने विषय चर्चामा छ ।

भारतमा स्टारलिंकले पुर्याउनु पर्ने लाइसेन्ससम्बन्धी विधि र प्रक्रिया पूरा नगरेरै यसको कार्यान्वयन गर्न थालेपछि भारत सरकारले यसमाथि रोक लगाएको थियो । दर्ता प्रक्रिया नै पूरा नगरिएकाले यसले विवाद निम्त्याउन पुगेको देखिएको छ ।

तर भारतस्थित स्टार लिंकका प्रमुख भार्गभले भने आफ्नो व्यक्तिगत समस्याका कारण राजीनानमा दिएको भनी प्रष्टिकरण दिएका छन् । भारतमा स्टारलिंकले अहिले आएर धेरै समस्याको सामना गरिरहेको छ ।

यो कम्पनीले दर्ता प्रक्रिया पूरा गरी लिनु पर्ने लाइसेन्स नै नलिई स्याटेलाइट इन्टरनेटको प्रि बुकिङ सुरू गरिसकेको थियो । भारतीय टेलिकम विभागले इन्टरनेट सर्भिस दिनका लागि स्टारलिंकले कुनै पनि अनुमति नलिएको स्पष्ट पारिसकेको छ ।

भारतीय टेलिकम कम्पनीले स्टारलिंकको प्लान सब्स्क्राइब नगर्न आमजनतामा आग्रह गरिसकेको छ । त्यसपछि व्यापक विरोध हुने त्रासले स्टारलिंकले प्रि–बुुकिङ रकम फिर्ता गर्न सुरु गरिसकेको छ । अमेरिकी भुक्तानी कम्पनी पे पलका संस्थापक कर्मचारी रहेका भार्गभलाई अक्टोबर १ मा नै स्टारलिंकले भारतको कन्ट्री डाइरेक्टरमा नियुक्त गरेको थियो ।

स्टार लिंकको यो प्रक्रियालाई नेपालमा गरु रामदेवका पतञ्जलीसम्बन्धी दुईवटा टेलिभिजन च्यानल नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ताधारी गठबन्धनका नेता पुष्पकमल दाहाल र माधव नेपालले विना दर्ता प्रक्रिया नै उद्घाटन गरिदिएको घटनासँग दाँजेर हेर्न थालिएको छ ।
(एजेन्सीको सहयोगमा)