• मंसिर १३ २०८१, बिहीबार

लेखा समितिको कडाइ : ‘चिनी मिलका जग्गा र वैंक खाता रोक’

पुष २० २०७८, मंगलवार

काठमाडौं । उखु किसानको तिर्नुपर्ने बाँकी बक्यौता र हालको नयाँ रकम तिर्न आनाकानी गरिरहेका चिनी मिलका साहु र चिनी मिलको नाममा रहेको जग्गा तथा बैंक खाता रोक्का गर्नका लागि प्रतिनिधिसभाको लेखा समितिले सरकारलाई कडाइका साथ पत्राचार गरेको छ ।

किसानलाई उखुको पैसा नतिर्ने ५ उद्योगको नाम किटानीसहित तिनका जग्गा र बैंक खाता रोक्का गर्न मंगलवार नै पत्राचार गरिएको हो । प्रतिनिधिसभा लेखा समितिमा भएको एक छलफलमा यस्तो अति जरुरी निर्णय भएको उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार भट्टराईले स्वीकार गरेका छन् ।

सरकारलाई गरिएको पत्राचार निर्देशनअनुसार आपूर्ति मन्त्रालयले हिमालय, श्रीराम, लुम्बिनी, अन्नपूर्ण र इन्दिरा चिनी मिलको बैंक खाता र जग्गा रोक्का गर्नका लागि भूमि व्यवस्था, गृह र अर्थ मन्त्रालयमा लेखी पठाइसकेको छ ।

लामो समयसम्म पनि मिल मालिक र उखु किसानका बीचमा कारोबारको बिबाद समाधान हुन नसक्दा लेखा समितिले कडाइका साथ पत्राचार गर्न निर्देशन गरेको हो ।

हालसम्म पनि पाँचवटा चिनी मिलले उखु किसानलाई दिनु पर्ने ८ करोड ७० लाख रुपैयाँ भुक्तानी गरिरहेका छैनन् ।