• फाल्गुन २९ २०८२, शुक्रबार

माओवादी केन्द्रमा ‘संसदीय भूमिगत’ नेता : अझै रोकिएन भूमिगत हुने मेलोमेसो

पुष १९ २०७८, सोमबार

काठमाडौं । माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनबाट मनोनित केन्द्रीय समितिमा ‘संसदीय भूमिगत कार्यकर्ता’ रहेको खुल्न आएको छ । शान्ति प्रक्रियामा आइसकेपछि पनि ‘बिद्रोह’ र ‘क्रान्ति’को कुरा गरिरहने माओवादी केन्द्रमा यसो देखिनु नौलो भने होइन ।

तर संसदीय परिपाटीमा भने यस कुरालाई स्वीकार गरिदैन । माओवादी केन्द्र मात्र यस्तो पार्टी हो, जो युद्धमा पनि भूमिगत र खुला अवस्थामा पनि झनै ‘वैज्ञानिक भूमिगत’ रहन सक्छ ।

आइतबार साँझ प्रज्ञा भवनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय सदस्यको नाम वाचन गरिरहँदा ‘ऊ तामाङ’ र ‘पी घर्ती’ भनेर दुईजना संसदीय भूमिगत नेताको नाम उच्चारण गरेका थिए ।

यसरी नाम वाचन गर्दा प्रयोग गरिएको ‘थर’ लाई नियाल्दा भूमिगत हुनेमा अहिले पनि आदिवासी जनजाति र युवा नै अगाडी आएका छन् । जनयुद्ध कालमा रोल्पा रुकुमका जनजाति र युवाहरु अघि बढे झैं अहिलेको ‘संसदीय भूमिगत’मा पनि जनजाति र युवाहरु नै अघिल्लो पंक्तिमा रहेको पाइएको छ ।

यी भूमिगत नेताले हाल ‘संसदीय मोर्चा’ निकै प्रभावकारी रुपमा सम्हालिरहेको प्रचण्ड निकट स्रोतले जनाएको छ । ती मध्ये एकजनाले वागमती प्रदेशको प्रदेशसभा हाँकिरहेको देखिन्छ भने अर्को एकजनाले कर्णाली प्रदेशको प्रदेशसभा हाँकिरहेको बुझिएको छ ।

संसदीय परम्परा अनुसार प्रदेशसभा वा संघीय सभा हाँक्नेलाई कुनै पनि पार्टीको जिम्मेवारी दिइँदैन । तर संसदलाई ‘उपयोग गर्न’ काठमाडौं पसेको माओवादी केन्द्रमा भने यसले बरु सम्बन्धित नेताहरुमा थप जिम्मेवारी बढाउने आशाका साथै अरुलाई पनि भूमिगत हुन प्रेरित गर्ने ठानिएको देखिन्छ । राजनीतिक विश्लेषकहरुले यसलाई मोहनविक्रम सिंहको ‘संसदीय लिगेसी’मा थालिएको ‘पूरक बिस्तार’ भनेर अर्थ्याउन थालेका छन् ।