काठमाडौं । कोशी कोभिड अस्पतालमा बिरामीका लागि राम्रो उपचार नभइरहेको रिपोर्ट बारम्बार सुनाइएपछि प्रदेश नम्बर–१ का आन्तरिक मामला तथा कानुनमन्त्री केदार कार्की पिपिई लगाएर आइसियु प्रवेश गरेका थिए । उनी आइसियु कक्षमा प्रवेश गरेलगत्तै उक्त वार्डमा रहेका बिरामीसँग आवश्यक कुराकानी पनि गरेका थिए ।
आइसियुमा चिकित्सक टोलीसँगै प्रवेश गरेका मन्त्री कार्की वार्डभित्रका संक्रमित बिरामीसँग गरिएको कुरामा विश्वस्त भएर बाहिरिएका थिए । बिरामीलाई दिइएको सेवासुविधा स्तरीय नै भएको र उपचारको मामलामा कुनै पनि हेलच्याक्राइँ नभएको उनको अनुभूति रहेको छ ।
हालका दिनमा प्रदेश सरकार मातहत सञ्चालनमा आएको उक्त अस्पतालमा अक्सिजनसहित आवश्यक औजारहरु पनि रहेको छ । त्यसैले पनि गम्भीर प्रकृतिका संक्रमितहरुले यहाँबाट उपचार सेवा लिने गरिरहेका छन् ।
तर मन्त्री कार्कीका कानमा भने ‘चिकित्सकले बिरामी नहेर्ने गरेको, भनेको जस्तो उपचार नहुने गरेको, हेलच्याक्राइ हुने गरेको आदि भरिएको थियो । जिम्मेवार प्रतिनिधि हुनुका नाताले उनी अनुगमनमा गएको कुरा आफैमा सह्रानीय रहेको छ ।
अस्पतालमा पुगेर ‘बाहिर गुनासो आएपछि म अवस्था बुझ्न आएको हुँ’ भनी स्पष्ट भाषामा चिकित्सक तथा अस्पताल व्यवस्थापनसँग कुरा राखेका उनले अस्पतालबाट निस्कदा सबैलाई धन्यवाद दिएका थिए ।
ओमिक्रोनजस्तो नयाँ उत्परिवर्तित भेरियन्टको जोखिम बढ्ने संभावना रहेका बेला मन्त्री कार्कीको सम्बन्धित अस्पतालमा भ्रमणले सरकार पनि चिन्तित र संवेदनशील छ भन्ने सबैमा विश्वास दिलाएको छ ।
कोशी अस्पतालमा कोभिड बिरामीका लागि १०० बेडसहित आईसीयु र भेन्टिलेरको समेत सुविधा रहेको छ ।