• बैशाख १२ २०८२, शुक्रबार

अमेरिकामा आइसोलेशनमा बस्ने अवधि आधा घटाइयो

पुष १३ २०७८, मंगलवार

काठमाडौँ। अमेरिकाले लक्षण नदेखिएका कोरोना भाइरस सङ्क्रमित आइसोलेशनमा बस्ने अवधि आधा घटाएको छ । आइसोलेशन अवधि दश दिनबाट घटाएर पाँच दिन कायम गरिएको हो ।

सेन्टर्स फर डिजिज कन्ट्रोलले त्यसपछिका पाँच दिनमा मास्क लगाउन सुझाव दिएको छ । कोभिड सङ्क्रमण बढ्दै गएपछि अमेरिकाभरिको यात्रा अस्तव्यस्त हुँदा पछिल्लो घोषणा गरिएको हो ।

ओमिक्रोन भेरियन्टले अस्पतालमा भीडभाड बढाउने जोखिम रहँदा राष्ट्रपति जो बाइडेनले परीक्षणमा रहेका कमजोरीसँग जुझ्ने प्रतिबद्धता जनाएका छन् । पछिल्लो विवरणबारे जानकारी दिँदै सीडीसीकी निर्देशक रुसेल वुलेन्स्कीले नयाँ परिवर्तनहरूले मानिसहरूले सुरक्षित रूपमा आफ्नो दैनिक जीवनलाई निरन्तरता दिने सुनिश्चित गरेको बताएकी छन्।

अमेरिकामा पछिल्ला दुई दिनमा दैनिक दुई लाखभन्दा बढी सङ्क्रमणका घटना देखा परेका छन् ।