• मंसिर १३ २०८१, बिहीबार

ओमिक्रोन नेपाली ‘जीन’मा देखियो, खोपबिस्तार एक मात्र विकल्प

पुष १० २०७८, शनिबार

काठमाडौँ। यस अघि दुईजना विदेशी पाहुनाहरुमा देखिएको ओमिक्रोनको संक्रमण पछिल्लो समयमा नेपाली नागरिकमा देखा परेपछि यसले चिन्ता उब्जाएको छ । नेपालभित्र ओमिक्रोनको संक्रमण देखिएको यो दोस्रो पटक भए पनि पहिलो पटकको संक्रमण विदेशी पर्यटकहरुमा देखिएको थियो ।

नेपाली जीनमा संक्रमण सुरु भैसकेपछि यसको तीब्र रुपमा हुन सक्ने फैलावट रोक्नका लागि स्वास्थ्य मन्त्रालय तथा यस मातहतका विभागहरु बेलैमा सतर्क हुनुपर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. संगीता मिश्राले बुधवार ५८ वर्षीय नेपाली नागरिकमा कोरोेनाको नयाँ उत्परिवर्तित भेरियन्ट ओमिक्रोन संक्रमण भेटिएको पुष्टि गरेकी थिइन् ।

यसले नेपाली जनजीवन निकै सतर्क बनाएको छ । निकै चाँडो र व्यापक रुपमा फैलन सक्ने यो भेरियन्टबाट संक्रमित रहेका व्यक्तिको स्वास्थ्यस्थिति हाल सामान्य अवस्थामा रहे पनि यो ती व्यक्तिमा कसरी पुग्यो खोजीको विषय बनेको छ । उनी बाहेक अरु नागरिकमा त्यसको संक्रमण नपाइएको बताइए पनि यसले ढुक्कता सिर्जना भने गर्न सकेको छैन । ती संक्रमित नागरिकको उपचार स्वास्थ्य मन्त्रालयको निगरानीमा भैरहेको भए पनि नेपालीजनमा यो भेरियन्ट संक्रमण भैसकेको छ । यसको स्पष्ट अर्थ हो, नेपाल अब यो भेरियन्टबाट अपवाद रहेन ।

हालसम्म डेल्टा भेरियन्टबाट संक्रमित बिरामीहरु रहेको अवस्थामा अबका दिनमा ओमिक्रोनको पनि संक्रमण बढ्दै जाने आँकलन स्वास्थ्य जगतमा गरिन थालिएको छ । भिन्नखाले उत्परिवर्तन भएकाले पनि यसका लागि नयाँ खाले सोच र जागरुकताको जरुरी हुन गएको छ ।

डेल्टा भेरियन्टका लागि हालसम्म नेपालीमा विकास भएको आनीबानी, सतर्कतामा आएको परिपक्वता र खोपको बिस्तारले धेरै हदसम्म काम गरेको थियो । तर उत्परिवर्तित भेरियन्ट नै भिन्न भएको कारण यसले आमनागरिकमा देखिएको डेल्टा भेरियन्टको संक्रमण भन्दा भिन्न तरिकाले आक्रमण गर्ने देखिन्छ ।

विश्वका अधिकांश देशमा फैलिइसकेको यो भेरियन्टमा संक्रमणको गति निकै तीब्र रहेको छ । नेपाली जनस्वास्थ्यमा महामारी क्रमिक सुधार हुँदै गएको अवस्थामा फेरि यसले अर्को स्वास्थ्य संकट थप्ने देखिएको छ ।

नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण नेपाली नागरिकमै देखा परेपछि यो निकै जटिल र भयाबह हुने आँकलन गर्न थालिएको छ । उता विश्व स्वास्थ्य संगठनले सिंगो युरोपलाई ओमिक्रोनको संभावित विनासबाट बच्न बेलैमा सतर्क रहनु पर्ने चेतावनी दिइरहेको छ ।

वैज्ञानिकहरूले ओमिक्रोन पहिलेका भेरियन्टभन्दा खतरनाक नभएको भनेपनि यो भेरियन्टबाट मृत्यु हुनेको संख्या विश्वमा बढ्दै जान थालेको छ । सुरुको चरणमा त्यति आक्रामक नदेखिए पनि यो भेरियन्टले पछिल्ला दिनहरुमा ठूलो विनास त निम्त्याउने होइन भन्ने आशंका स्वास्थ्यविद र वैज्ञानिकहरुका माझ कायमै छ ।

धेरै युरोपीय देशमा उच्च सतर्कता अपनाइनुका साथै लकडाउन पनि सुरु भैसकेको छ । अमेरिकी वैज्ञानिक तथा डाक्टरहरुले ओमिक्रोनसँग खेलाँची नगर्न र सतर्क रहन बारम्बार आग्रह गरिरहेका छन् ।

अहिले सम्मको परीक्षण र अनुसन्धानमा ओमिक्रोनले खोपसेवा लिएकाहरुलाई गम्भीर बिरामी बनाउन नसकेको खुल्न आए पनि नेपालमा खोप सेवा नलिएकाहरुको संख्या बढी छ । यो जनसंख्यामा ओमक्रोनले सत्यानाश निम्त्याउन सक्छ ।