• मंसिर १३ २०८१, बिहीबार

देशव्यापी चीसो बढेसँगै मनाङको तिलिचो ताल जम्यो

पुष ८ २०७८, बिहीबार

काठमाडौं । पौष लागेसँगै ह्वात्तै बढेको चिसोले मनाङ जिल्लाका तालतलैया, पोखरी, मूल तथा नदीनाला जम्न थालेका छन् । विरलै देखिने यस्ता घटनाअहिले मनाङमा देखिएको छ । माघको पहिलो सातामा देखा पर्ने यस्ता कुरा अहिले पुसको पहिलो सातामै देखा परिरहेका छन् ।

मनाङ आफैमा हिमाली जिल्ला हो । चिसो अत्यधिक रुपमा बढेसँगै यहाँको तापक्रम माइनस १५ डिग्रि सेल्सियससम्म पुगिसकेको छ । त्यसमा पनि चिसोको मात्रा बढ्दैगैरहेको छ । यहाँका हिमताल जमेर चट्टान झैं बन्न थालेका छन् ।

मनाङमा अवस्थित ४ हजार ९ सय १९ मिटरमा उचाइमा रहेको तिलिचो ताल अहिले जमेको अवस्थामा छ । मनाङकै भ्राकास्थित ४ हजार ६ सय मिटर उचाइमा रहेको केंचो ताल पनि जमेर ठम्म भएको छ । यसले मानिस वा जनवर तालमाथि जमेको हिउँमा हिँडेर वारपार गर्न सकिने बनाएको छ ।

चिसोसँगै खानेपानीको मुहानसमेत जम्न पुग्दा मनाङको तापक्रम दिउँसोपनि माइनसमा र साँझ–बिहान माइनस ६ देखि माइनस १५ डिग्री सेल्सियससम्म पुगिसकेको छ । साझ पर्न लाग्दा जमेका नदी नाला र ताल दिउँसो मध्यान्हपछि बग्न थाल्छन् ।

यस्तो बेलामा मनाङ पुगेका पर्यटकहरु हिउँ खेल्ने र जमेका ताल तथा पोखरीमा स्किइङ गर्ने गर्दछन् । यसले गर्दा पनि मनाङमा जाडो मौसममा आन्तरिक तथा बाह्य पर्यटक बढ्ने गरेका हुन्छन् । हिउँले गर्दा प्राकृतिक दृश्य पनि निकै मनमोहक देखिन्छन् ।