• बैशाख ११ २०८२, बिहीबार

बुझ्नै सकिन जीवन के हो !

पुष ४ २०७८, आईतवार

जीवनको परिभाषा खोज्दै हिंडिरहेछु म
कहिले आवश्यकताहरुले सोच्न बाध्य बनाउँछन् ।
कहिले बाध्यताहरुले सोच्न बाध्य बनाउँछन्
कहिले अनगिन्ती सपनाहरुले आशा जगाउँछन् ।

आखिर जीवन के हो ?
जीवन कहिले उकालिी चढ्यो
कहिले ओराली झर्यो
हिंड्दा हिंड्दै बाटैमा बिसौनी बस्यो
फेरि पनि घच्घच्यायो
जीवन के हो ? भनेर ।

एकातिर देशको समस्या
अर्कोतिर समाजको समस्या
मिलाउँछु भन्दाभन्दै थपियो आफ्नै समस्या
न त पार लाग्यो समस्या
न त खास लाग्यो आवश्यकता
अघिअघि लागि रह्यो बाध्यता ।

आखिर के हो ? जीवन
सपनाको खानी भनौं त पूरा कहिले हुंदैन
आवश्यकताको खानी भनौं त त्यो पनि पूरा हुंदैन
बाध्यताको भकारी भनौं त रित्तो कहिले हुँदैन
भरेर नी भरिंदैन
आखिर के हो जीवन ?

जानेकाले परिभाषा देऊ
बुझेकाले सविस्तार लगाऊ
पढेकाले दुनियाँलाई पढाऊ
भोगेकाले अनुभूति सुनाऊ
देखेकाले ऐना झैं देखाऊ
जीवनको परिभाषा दुनियाँलाई बुझाऊ ।