• मंसिर ८ २०८१, शनिबार

मंगल ग्रहमा जमिनमुनि विसाल जलाशय भेटियो

पुष ३ २०७८, शनिबार

काठमाडौं । मंगल ग्रहमा अमेरिका र चीनको खोजी कार्यमा निकै प्रतिस्पर्धा भैरहेको बेला युरोपले मंगल सतहभन्दा ३ फिट मुनि विसाल जलाशय भेटिएको कुरा सार्वजनिक गरेको छ । यसले सबैलाई जति चकित बनाएको छ, उत्तिकै आशावादी पनि बनाएको छ ।

युरोप स्पेस एजेन्सी (ईएसए)ले मंगल ग्रहमा जमिनभन्दा केवल ३ फिट मुनि ठूलो मात्रामा पानी फेला परेको बताएको छ । मंगल ग्रहको ग्रान्ड कानयोन क्षेत्रमा ठूलो मात्रामा पानी फेला परेको दाबी गरेको हो । डेलमेलका अनुसार एक्सो मार्स ट्रेस ग्यास अर्बाइटर (टीजीओ)ले मंगल ग्रहको जमिनमुनि ठूलो मात्रामा पानी रहेको फेला पार्न सफल भएको हो ।

ईएसएका अनुसार भल्लेस मरिनर्सको सतहभन्दा तीन फिट मुनि पानी फेला परेको छ । पानी भेटिएको उक्त क्षेत्र ३ हजार ८६२ किलोमिटरसम्म फैलिएको छ । पानी नै पानीले भरिएको यसको क्षेत्रफल नेदरल्याण्ड्सको आकार बराबर रहेको छ ।

मंगल ग्रहमा पानी छ कि छैन भनी त्यहाँ पुगेका प्रोव मिसनका रोभरहरुले उत्खनन् गरिहँदा युरोपेली शोधकर्ताहरुले पानी भेटिएको कुरा खुलस्त गरेका हुन् । प्रमुख शोधकर्ता अलेक्सी मलाखोभले एक विज्ञप्ति जारी गरेर सार्वजनिक रुपमै भनेका छन् ‘भल्लेस मरिनर्सको मध्यवर्ती क्षेत्र पूरै पानीले भरिएको छ र यो क्षेत्र पानीको मात्रा अपेक्षा गरिएभन्दा धेरै मात्रामा छ ।’

पृथ्वीमा पाइने गरेको ‘अन्डर ग्राउण्ड वाटर’जस्तै त्यहाँ पनि पाइएको छ । मंगलमा पनि जमिनमुनि ठूलो मात्रामा पानी रहेको छ, यस कारण पनि त्यहाँको तापमान धेरै कम छ । तर जमिनमाथि सुख्खा र रेतिलो धूलो रहेको छ ।

विगतका नजीरहरुलाई नियाल्यौं भने सन् २००६ मा अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले एक तस्वीर सार्वजनिक गर्दै मंगल ग्रहमा पानी भेटिएको प्रमाण पेस गर्ने प्रयास गरेको थियो । पछि सन् २००८ मा पुग्दा नासाकै फोनिक्स मार्स ल्याण्डरले मंगलग्रहमा बरफ रहेको पुष्टि गर्ने प्रयास गरेको थियो ।
(एजेन्सीको सहयोगमा)