• मंसिर १८ २०८१, मंगलवार

मल्लकी छोरी विहे गरेका चन्द्रे कामी बेपत्ता भए कि बेपत्ता बनाइए !

पुष २ २०७८, शुक्रबार

सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका वडानम्बर १ का धनञ्जय कामीका छोरा १९ वर्षका चन्द्रे कामी र सोरु गाउँपालिका–४ लिब्रुका वीरबहादुर मल्लकी छोरी रमिला मल्ल विगत तिन वर्षदेखि प्रेम सम्बन्धमा थिए । रमिला १८ वर्षकी छिन् । रमिलाको बोलाउने नाम सुन्तली हो ।

चन्द्रे र रमिलाको रमाइलो जोडीले मङ्सीर ५ गते आपसी सहमतिमा विवाह गर्ने निर्णयमा पुगेपछि भागेका थिए । किन कि उनीहरुको प्रेम अन्तरजातीय भएका कारण सहमतिमा विहे कुरा असम्भव नै थियो । उनीहरु केहीदिन भागेर गाउँ भन्दा बाहिर बसी मंसीर २४ गते मात्रै घरमा फर्केका थिए ।

गत मङ्सिर २९ गते माइती पक्षले तल्लो जातको केटासित विहे गरेको ! भन्दै राति १२ बजेतिर १५–२० जनाको समूह गइ केटा पक्षको आफन्तको घरमा ताला लगाइ केटाकेटी दुवै जनालाई अपहरण शैलीमा लिएर गए । तर अहिलेसम्म केटा भने सम्पर्कविहीन छन् । उनलाई कतै लुकाएर राखिएको छ कि ? बन्धक बनाइएको छ कि ? ज्यान नै तलमाथी पारियो कि ? अहिलेसम्म कुनै खबर आएको छैन ।

एक महिना अगाडि भागेर विहे गरेका उनीहरु सानो जातसित विहे गरेकै कारणले परिवारले स्वीकार नगरेपछि उनीहरू भाग्दै हिँडेका थिए । रमिला मल्लले आफ्नो गर्भमा चन्द्रेको बच्चा दुई महिनाको भइसक्यो अब मलाई भगाएर विहे गर भनेर जबरजस्ती गरेपछि चन्द्रेले केटी भगाएको केटाको परिवारले बताएका छन् ।

केटा र केटीलाई समेत अपहरण गरे पनि केटीलाई भने पछि आफ्नो परिवारले घरमा लगेको स्थानीय गगन लोहारले बताए । केटी आफ्नै घर परिवारको सम्पर्कमा छिन् तर केटालाई मात्र सम्पर्कविहीन बनाएको समाचारमा जनाइएको छ ।

उनले भने,‘कुनै अप्रिय घटना नहोस् भनी मैले जिल्ला प्रहरी कार्यालयका डिएसपीलाई जानकारी गराएँ, खै अहिलेसम्म केही अत्तोपत्तो लागेन ।’ लोहार भन्छन्, ‘योजना बनाउने र अपहरण गर्न जाने २,४ जनाको नाम डिएसपीलाई दिँदा पनि कोसैलाई पक्राउ गरेनन् ।’

यता यही विषयमा हुम्लाका डिएसपीले भने,‘घटनाको बारेमा कुनै पक्षबाट पनि आधिकारिक निवेदन आएको छैन, केटाको आफन्तले जानकारी दिएपछि इन्स्पेक्टरको कमाण्डमा टोली हिजो नै गएको हो तर हिउँ परेर, यातायातको सुविधा र सञ्चारको असुविधाले गर्दा सम्पर्क गर्न कठिन भएको छ ।’ उनले भोलीसम्म प्रहरी टोली गाउँ पुग्ने र खोज कार्य भइरहेको बताए । थाहा अनलाइनबाट ।