काठमाडौं । विश्वकै धनाढ्य एलन मस्कको ‘स्पेस एक्स’सँग डरलाग्दो प्रतिस्पर्धामा रहेको अर्का धनाढ्य जेफ बेजोसको अन्तरीक्ष कम्पनी ‘ब्लु ओरिजिन’ ले ७४ वर्षीया लाउरा शेपार्डलाई अन्तरीक्ष भ्रमणमा पठाउन सफल भएको छ ।
उनका बुबा एलन शेपर्ड संयुक्त राज्य अमेरिकाका प्रथम अन्तरीक्ष यात्री थिए । उनकी छोरी लाउरा अहिले अन्तरीक्षमा पुगेकी छिन् । लाउराले अन्तरीक्ष भ्रमण मात्र गरिरहेकी छैनन्, बरु आफ्ना पिताको पदचाप पछ्याइरहेकी छिन् ।
उनले ६० वर्षपछि उनको पिताको अन्तरीक्ष भ्रमणलाई पछ्याएकी हुन् । सन् १९६१ मे महिनाको ५ तारेखका दिन उनका बुवा एलन शेपर्ड फ्लोरिडाबाट उडेको मर्क्यूरी अन्तरीक्ष यान चढेर अन्तरीक्षमा पुगेका थिए ।
अन्तरीक्षमा लाउरासहित पुगेका ६ जना यात्रीहरुले सब–अर्बिटल अर्थात् उपकक्षीय उडानमार्फत् केही समय शून्य गुरुत्व क्षेत्रको अनुभूत गर्ने मौका पनि प्राप्त गरिसकेका छन् ।
अन्तरीक्ष पर्यटनमा आफ्नो प्रभुत्व कायम गर्नका लागि भगिरथ प्रयत्नमा रहेको ब्लू ओरिजिनको यो पछिल्लो अद्भूत सफलता हो । ब्लु ओरिजिनले सन् २०२१ मा मात्र योसहित तेस्रो उडान सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।