रोकथामका अनेकौं उपायका बाबजुद नेपालमा कोरोनाको नयाँ उत्परिवर्तन ओमिक्रोन भेरियन्ट प्रवेश गरिसकेको छ । यसले नेपालमा सबैलाई छक्याएर प्रवेश गरेको छ । ओमिक्रोन नआओस् भनेर यसका लागि आवश्यक छेकवारको प्रवन्ध र व्यवस्थापन निकै गरियो ।
दक्षिण अफ्रिका लगायतका अरु देशहरुबाट आवत जावत बन्द गरियो । हवाइ उडान अनिस्चित कालका लागि बन्द भयो । सीमा इलाकामा होल्डिङ सेन्टर र क्वारेन्टाइन चुस्त दुरस्त बनाएर राख्न भनियो । अति आवश्यक बाहेक विदेश भ्रमणमा रोक लगाइयो ।
तर यी र यस्ता कामका बारेमा सोचिनु र कार्यान्वयनका लागि निर्देशन गरिनुपूर्व नै ओमिक्रोन भेरियन्ट काठमाडौंको एक तारे होटलमा आएर धेरै दिनअघिदेखि नेपाली जनजीवनलाई चियाइरहेको रहेछ । निकै नजिकबाट ठमेलमा हाँस्दै, हिंड्दै र रमाउँदै ।
ओमिक्रोन दुईजना विदेशी नागरिकलाई थाहै नदिइकन उनको श्वासप्रश्वास र ग्रन्थीमा बसिसकेको रहेछ । उनीहरु निस्फिक्री सबैसँग गफिदै र हिंड्दै गरिरहेका रहेछन् । दक्षिण अफ्रिका र विश्व स्वास्थ्य संगठनले यसको नाम ओमिक्रोन भनेर दिएपछि यसको अन्तर्राष्ट्रिय हुलिया काटियो ।
विश्वभर यसको खोजी हुन थाल्यो । नेपालमा नपसोस् भनेर सरकारले कडा निर्देशन र कार्यक्रम कार्यान्वयनका लागि जारी गर्यो । तर काठमाडौंमा यो छिरिसकेको तब मात्र थाह भयो, जब विदेशबाट नेपाली भूमिमा भित्रिएका दुई विदेशी नागरिकमा ओमिक्रोन भेरियन्ट देखा पर्यो ।
उक्त भेरियन्ट देखा परेका विदेशी नागरिक मंसीर २ गते अर्थात् नोभम्बर १८ मा प्रवेश गरिसकेका थिए । उनीहरुको साथ लागेर ओमिक्रोन पनि नेपाल प्रवेश गरेको थियो । तर यसको न्वारान र प्रचार २४ नोभेम्बर २०२१ मा मात्र दक्षिण अफ्रिकामा गरियो । त्यसलगत्तै विश्व स्वास्थ्य संगठनले यसलाई नयाँ उत्परिवर्तन ‘ओमिक्रोन भेरियन्ट’ स्वीकार गरी यसबारेमा सबै सतर्क हुन निर्देशन जानकारी विश्वलाई जारी गर्यो ।
तर आश्चर्य ! उत्पत्तिस्थल दक्षिण अफ्रिका र विश्व स्वास्थ्य संगठनले यसको वेगवान संक्रमण र त्यसको असरबाट बच्न आधिकारिक रुपमा मुख खोल्नु भन्दा ७ दिन पहिले नै नेपालमा यो भेरियन्ट प्रवेश गरिसकेको थियो । अहिले यो भेरियन्ट विश्वका ३५ देशहरूमा महामारीका रुपमा फैलिसकेको छ । अब नेपाल पनि यो संक्रामक भाइरसको पञ्जाबाट मुक्त रहन सकेन ।
नेपाल आएका दुई विदेशी नागरिकमध्ये ७१ वर्षिय एकजना लामो समयदेखि नेपालमै रहेका थिए । अर्का ६६ वर्षिय नागरिक मात्र मंसिर ३ गते त्रिभुवन विमानस्थलबाट नेपाल प्रवेश गरेका थिए । यी दुवैमा ओमिक्रोन भेटिएको छ । हाल दुवै नागरिक आइसोलेशनमा छन् ।
तीब्र गतिमा फैलनसक्ने अतिसंक्रामक यो भेरियन्ट नेपालमा भित्रिइसकेपछि यो अब फैलने क्रम कसरी रोक्ने भन्ने चिन्ता सबैतिर छाएको छ । ती विदेशी नागरिकसँग भेटघाट भएका र नजिक रहेका ६६ जनाको पिसिआर परीक्षण गरिसकिएको छ । उनीहरुमा उक्त भेरियन्टको संक्रमण देखिएको छैन । तर पनि यो भाइरसले नेपाली जीनमा प्रवेश गर्ने र आफूलाई अनुकूल बनाउने मौका पायो भने छोटो समयमा नेपालभर फैलने संभावनालाई अस्वीकार गर्न सकिदैन ।
विश्वस्वास्थ्य संगठनले पनि यसको प्रकृति निकै आक्रामक र संक्रामक देखिएको भनेर पुष्टि गरिसकेको छ । अहिले ओमिक्रोनले विश्वका धेरै देशहरुलाई आफ्नो आँधीमय लपेटाभित्र बेह्रिसकेको छ ।