• मंसिर १० २०८१, सोमबार

काँग्रेस १४औँ महाधिवेशन : गगन-पौडेलले साथ छोडेपछि सिटौलाको तालमेल देउवासँग

मंसिर १७ २०७८, शुक्रबार

काठमाडौं । नेपाली काँग्रेसको १३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षबाट विद्रोह गर्दै महामन्त्री कृष्णप्रसाद सिटौला सभापतिको प्रत्याशी बने । सिटौलाको विद्रोहले तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेल पार्टी नेतृत्वमा पुग्न पाएनन् ।

दोस्रो चरणमा भएको निर्वाचनमा सिटौलाको समर्थन शेरबहादुर देउवालाई हुन पुग्यो । सिटौलाको समर्थनमा देउवा पार्टीको मूल नेतृत्वमा मात्र पुगेनन्, २०५३ सालपछि कांग्रेस नेतृत्व कोइराला परिवारबाट बाहिर गयो ।

सिटौलाको साथ पाएर नेतृत्वमा पुग्न सहज भएको महसुस गरेका देउवाले निकटतम प्रतिद्वन्द्वी पौडेलसँगै सिटौलालाई पनि केन्द्रीय सदस्यमा मनोनीत गरे । १३ औं महाधिवेशनबाट कांग्रेसभित्र छुट्टै समूहको पहिचान बनाएको सिटौला समूह पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अधिवेशनमा देउवासँगै मिलेर अघि बढ्यो ।

अर्को भ्रातृ संगठन नेपाल तरुण दलको अधिवेशनसम्म पुग्दा देउवासँग सिटौला केही टाढा देखिए पनि उनको लचकता देउवातिरै रह्यो । तर सिटौलालाई साथ र सहयोग गर्दै आएका गगनकुमार थापा,प्रदीप पौडेलसहितका नेताहरू २०७४ सालको आमनिर्वाचनपछि देउवाको विकल्पमा उभिँदै आएका छन् ।

पार्टीको १४औं महाधिवेशनमा देउवाको विकल्प खोज्न सिटौलालाई संस्थापन इतर समूहमा जोड्ने प्रयास युवा नेताले गरे पनि वडादेखि प्रदेश अधिवेशनसम्म आइपुग्दा देउवा र सिटौला थप नजिकिएका छन् ।

पार्टीको तल्लो तहका अधिवेशनहरूमा सिटौला पक्षले आफ्नो अनुकूलतामा संस्थापन र इतर समूहसँग तालमेल गर्‍यो । तर प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनसम्म आइपग्दा सिटौला समूह अधिकांश ठाउँमा संस्थापन पक्षसँग नजिकिएको छ ।

स्थानीय राजनीतिका कारण केही अपवादबाहेक धेरैजसो जिल्लामा सिटौला निकट नेताहरूले देउवा समूहलाई सहयोग गर्ने र केही ठाउँमा देउवा पक्षको सहयोग लिएर नेतृत्व आफ्नो पक्षमा पारेका छन् ।बिहीबारदेखि सुरु भएको सातै प्रदेशको अधिवेशनमा पनि नयाँ नेतृत्व लिन देउवा र सिटौला समूहबीच तालमेल भएको छ । यो समाचार नागरिक दैनिकमा छ ।