काठमाडौँ । एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले नेताहरूले बनाएका तीन वटा प्रतिवेदनलाई मिलाएर एउटै साझा प्रतिवेदन बनाई सचिवालयमा पठाउने भएको छ ।
यसअघि नेताहरू रामबहादुर थापा, शङ्कर पोखरेल र प्रदीप ज्ञवालीले तीन अलग प्रतिवेदन मस्यौदा तयार गरेका थिए । चुनावी नतिजालाई लिएर कार्यदलमा नेतृत्वले मार्ग प्रशस्त गर्ने कि नगर्ने भन्ने मुद्दा पेचिलो बनेको थियो ।
आइतबार बसेको कार्यदल बैठकले उक्त निर्णय गरेको सचिव पद्मा अर्यालले जानकारी दिइन् । नेतृ अर्यालले कार्यदलले साझा प्रतिवेदन बनाएर सचिवालयमा पठाउने र बाँकी निर्णय सचिवालयले गर्ने पनि बताइन् ।
‘अहिले कार्यदलले नेतृत्व पुनर्गठनसँग जोडिएको चिज पेस गर्दैन’, अर्यालले भनिन्, ‘कार्यदल संयोजकले पेस गरेको प्रतिवेदन मस्यौदालाई हामीले केही परिमार्जन गरेर साझा दस्ताबेजका रूपमा प्रतिवेदन बनाएर पार्टीलाई बुझाउँदैछौँ ।’
त्यस्तै, अर्का सचिव महेश बस्नेतले राष्ट्रिय परिषद बैठक बोलाउने निर्णय कार्यदलले गरेको जानकारी दिए । एमाले केन्द्रीय सचिवालय बैठक दिउँसो ३ बजेपछि आजै बस्दैछ । बैठकले भोलिबाट बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ ।