• आश्विन ४ २०८३, आईतवार

जलवायु न्यायका लागि पुरा हिन्दकुश क्षेत्रले सामूहिक आवाज उठाउन आवश्यक छ : विद्या भण्डारी

आश्विन ३ २०८३, शनिबार

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धाका कारण उत्पन्न जलवायु तथा वातावरणीय समस्याको मार नेपालले खेप्न नहुने बताएकी छिन् ।

शनिवार काठमाडौंमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा बोल्दै उनले शक्ति राष्ट्रहरूले गर्ने अत्यधिक खर्च र विकासका कारण उत्पन्न जलवायु परिवर्तनको असर नेपालजस्ता कमजोर मुलुकले भोग्नुपरेको बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको असर न्यूनीकरण तथा संरक्षणका लागि शक्ति राष्ट्रहरूले गर्ने खर्च र उनीहरूले गर्ने विकासको स्तरबीचको सम्बन्धबारे प्रश्न उठाइन् । उनले जलवायु परिवर्तनको असरमा वर्गीयता समेत प्रकट भएको उल्लेख गरिन् ।

हिन्दकुश हिमालय क्षेत्रका राष्ट्रहरूको आवाज अन्तर्राष्ट्रिय मञ्चमा बलियो रूपमा उठाउन इसिमोड जस्ता संस्थाको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।

”हिन्दकुश क्षेत्रका राष्ट्रहरूको आवाज संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय मञ्चमा बलियो रूपमा उठ्नुपर्छ । हाम्रो भिटो छैन, हाम्रो आर्थिक र राजनीतिक शक्ति पनि सीमित छ। त्यसैले सामूहिक रूपमा आवाज उठाउनु आवश्यक छ,” उनले भनिन् ।

संयुक्त राष्ट्रसंघमा शक्तिशाली राष्ट्रहरूको प्रभाव बढी हुने र नेपालजस्ता मुलुकसँग त्यस्तो प्रभावकारी शक्ति नरहेकाले सामूहिक रूपमा आवाज उठाउनुपर्ने उनले बताइन् । हिमाल तथा पहाडको संरक्षणका लागि त्यसअनुसारको नीति र कार्यक्रम बनाउनुपर्नेमा उनको भनाइ छ ।

जलवायु परिवर्तनमा मानव सिर्जित कारणको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई न्यूनीकरण गर्न विकसित प्रविधि र स्रोतसाधनको प्रयोग वातावरण संरक्षणमै केन्द्रित गर्नुपर्ने उनले बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज बलियो बनाउन हिन्दकुश हिमालय क्षेत्रका देशहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गरिन् ।