• आश्विन २ २०८३, शुक्रबार

पुराना दलले ३५ वर्षमा केही पनि गरेनन् भन्दै जनतालाई भ्रममा पारिएकाे प्रचण्डकाे भनाइ

आश्विन २ २०८३, शुक्रबार

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साम्राज्यवादी अमेरिकी दलालहरूले पुराना राजनीतिक दल र नेताहरूले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पार्ने काम गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

शुक्रबार काठमाडौँमा आयोजित अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आक्रोश व्यक्त गरेका हुन् ।
सामाजिक सञ्जालका अल्गोरिदम मार्फत पुराना दल र नेताहरूले गरेका कामबारे गलत धारणा निर्माण गरिएको भन्दै उनले आपत्ति जनाए।

मध्य पहाडी लोकमार्ग, उत्तर–दक्षिण करिडोर, मदन भण्डारी राजमार्ग र हुलाकी मार्ग निर्माण तथा विस्तारका निर्णय पुराना राजनीतिक नेतृत्वकै पालामा भएको दाबी उनले गरे।

ऊर्जा क्षेत्रमा समेत महत्त्वपूर्ण काम भएको जिकिर गर्दै उनले नेपालमा ऊर्जा क्रान्तिको आवश्यकता औँल्याए । विद्युत् उत्पादन र निर्यातको अवधारणा अघि बढाउने तथा लोडसेडिङ अन्त्य गर्ने कार्य आफ्नै पालामा भएको दाबी उनले गरेका छन्।

किसान महासङ्घको बैठकमा बोल्दै संयोजक दाहालले भने, ‘अहिले साम्राज्यवादी अमेरिकी दलालहरूले भन्ने गरेका छन्, पुराना पार्टी र नेताहरूले केही पनि गरेनन् ३५ वर्षमा भनेर, सबै बिगार्ने काम मात्र गरे भनेर एउटा भाष्य बनाएको छ।’
सामाजिक सञ्जालको प्रभावबारे टिप्पणी गर्दै उनले थपे, ‘जनताको दिमागमा अल्गोरिदम मार्फत यस्तो म्यानिपुलेसन र षड्यन्त्र गरेका छन् कि हामीले एउटै राम्रो काम गरेनौँ जस्तो।’

विकास पूर्वाधारका योजनाहरूबारे प्रश्न गर्दै उनले भने, ‘मध्य पहाडी लोकमार्ग निर्माण गर्ने निर्णय कसले गरायो ? उत्तर–दक्षिण करिडोर कसले बनाउने निर्णय गर्‍यो ? मदन भण्डारी राजमार्ग बनाउने कुरा कसले गरायो ? तराईमा हुलाकी मार्गलाई अगाडि बढाउने काम कसले गर्‍यो ?’

ऊर्जा क्षेत्रको उपलब्धिका विषयमा बोल्दै उनले थपे, ‘अघि एउटा कमरेडले हामीले ऊर्जामा केही पनि गरेनौँ भन्नुभयो। ऊर्जा हाम्रो लागि ठुलो सम्पत्ति हो भनेर नै देशभित्र ऊर्जा क्रान्ति गर्नुपर्छ कसले भन्यो ? १० हजार मेगावाटको विद्युत् निर्यातको कुरा मात्र होइन, नेपालमा लोडसेडिङ अन्त्य कसले गर्‍यो ?’

पुराना तथा स्थापित राजनीतिक दलहरूको योगदानलाई बेवास्ता गर्न नहुने भन्दै संयोजक दाहालले आफूले गरेका सकारात्मक कामहरूको प्रचार प्रसारमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।