• आश्विन १ २०८३, बिहीबार

महाधिवेशन स्थगित गरी पार्टी एकताका लागि संवाद अघि बढाउन थापालाई खड्काकाे आग्रह

आश्विन १ २०८३, बिहीबार

काठमाडौँ। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई १५औँ महाधिवेशनको कार्यतालिका स्थगित गरी पार्टीको सम्पूर्ण एकताका लागि संवाद अघि बढाउन आग्रह गरेका छन् ।

खड्काले बिहीबार सामाजिक सञ्जालमार्फत थापालाई सम्बोधन गर्दै अशोज ३ गतेदेखि सुरु गर्ने घोषणा गरिएको १५औँ महाधिवेशनको कार्यतालिका केही समयका लागि सार्न सुझाव दिएका हुन्।
उनले पार्टीका १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा तथा अग्रज नेताहरूसँग थापाकै अग्रसरतामा तत्काल वार्ता र संवाद सुरु गर्न आग्रह गरेका छन् । पार्टीको सम्पूर्ण एकता अझै सम्भव रहेको आफ्नो विश्वास रहेको खड्काको भनाइ छ। खड्काले दुईवटा अलग–अलग अधिवेशन रोक्न नसके कांग्रेस विभाजन कसैले रोक्न नसक्ने दाबीसमेत गरेका छन् ।
कांग्रेस विभाजनपछि नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायत संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका दलहरूमा समेत विभाजन हुनसक्ने उनको आशंका छ।

उनले पछिल्ला घटनाक्रम र विभिन्न गतिविधिले देशमा जातीय, क्षेत्रीय तथा धार्मिक द्वन्द्वको जोखिम बढेको संकेत गरेको दाबी गर्दै राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता र स्वाभिमानप्रति चिन्ता व्यक्त गरेका छन् ।

खड्काले थापालाई कानुन, अदालतको निर्णय वा पार्टी विधानका कारण कुनै समस्या नपर्ने भन्दै ढुक्क भएर निर्णायक कदम चाल्न आग्रह गरेका छन् ।

‘बितेका घटनाक्रमबाट गहिरो शिक्षा लिँदै निर्मम समीक्षा गरेर तत्काल निर्णायक र साहसिक कदम चाल्नुस्,’ खड्काले लेखेका छन्, ‘सम्पूर्ण एकताको सिंगो कांग्रेसको सभापति बन्नुस्।’

पार्टी एकताका लागि आफू कुनै पनि महत्वाकांक्षाबाट मुक्त भएर जस्तोसुकै त्याग गर्न र इमानदार सहयोग गर्न तयार रहेको पनि खड्काले बताएका छन् ।

आफ्ना विश्लेषण र अन्तरआत्माको आवाजबाट व्यक्त धारणा गलत साबित भए आफू सबैभन्दा खुसी हुने पनि उनले स्पष्ट पारेका छन्।