• भाद्र २७ २०८३, शनिबार

मुस्लिम समुदायमा स्वतन्त्रताको नाममा बढ्दो छाडापन र अभिभावकको जिम्मेवारी

भाद्र २७ २०८३, शनिबार

पृष्ठभूमि

जतिखेर मुस्लिम समाजमा महिला अधिकार, बालिका शिक्षा र पितृसत्तात्मक मुल्यमान्यताका विषयमा कुरा गरिन्छ । तुरुन्तै केही पूर्वनिर्धारित तर्कहरुलाई अगाडि सारिन्छ । कि महिलाका लागि घरमै बस्नु नै सुरक्षित हो, घरबाहिरको वातावरण खराब छ, र यदि बाध्यतावश बाहिर निस्कनै परे शरीर ढाकिएर निस्किन्छन् भने ऊ त रुढीवादी हो भनिन्छ ।

अनि आवश्यकतावश बाहिर निस्केर काम गर्ने महिलालाई झट्टै पश्चिमको नाम लिएर त्यसलाई दोष दिन सुरु गरिन् लौ हेर त यसलाई पनि पश्चिमी स्वतन्त्रताको हावा लागेछ । पुरुषप्रधान समाजलाई पश्चिमी पुँजीवादका दसवटा कमजोरी थाहा छन् भने, महिला भएका नाताले महिलालाई पनि त्यसका बीसवटा कमजोरीको वास्तविकता राम्ररी थाहा छ ।

थाहा छ कि पश्चिमी पुँजीवादले महिलालाई स्वतन्त्रताको नाममा केवल एउटा व्यावसायिक वस्तु र बजारमा प्रदर्शन गरिने सामग्री बनाइदिएको छ । विज्ञापनदेखि चलचित्रसम्म महिलाको शरीरलाई व्यापारिक रूपमा प्रयोग गरिएको छ। त्यसैगरी, महिलालाई आधुनिक देखिनुपर्ने दबाबसँगै करियर र घर दुबैको जिम्मेवारी एक्लैले सम्हाल्नुपर्ने दोहोरो तेहेरो मानसिक तनाव र शारीरिक बोझ पनि उनीमाथि नै थुपारिएको छ। संसारमा पश्चिमको पुँजीवादी बजार र हाम्रो समाजले मनपरी ढंगले खडा गरेको पर्खाल गरी दुई वटा मोडल मात्र छैनन् नि ।

महिला शसक्तीकरणको चौदह सय वर्ष अगाडिको हाम्रो आफ्नै पूर्ण र एक आदर्श मोडल पनि छ । दुःखद तर सत्य कुरा यो छ कि हामीले संसारसामु कुरआनको वास्तविक भावना र मर्ममा आधारित त्यस्तो कुनै मोडेल नै अहिलेको समयमा निर्माण गर्न सकेकाछैनौं । जसलाई हामी गर्वका साथ उदाहरणका रूपमा प्रस्तुत गर्न सकौँ । यद्यपि सही तरिकाले समाज सुधारको लागि महिला शसक्तीकरणको कुरा उठान गर्न आफ्ना कमी कमजोरी खोजेर त्यसको समाधान गर्नुको हाम्रो परम जिम्मेवारी हो ‌।

जहाँ इस्लामले छोरीलाई अल्लाहको रहमत, घरको बरकत र छोराछोरीका लागि जन्नत प्राप्त गर्ने माध्यमको रूपमा वर्णन गरेको छ । त्यसैगरी छोरीको पालनपोषण केवल सांसारिक शिक्षा, खानपान र दैनिक जीवनमा भोगिने सुख सुविधासम्म सीमित हुँदैन् , बरु उसको ईमान, असल आचरण (अख्लाक), हया, पर्दा र दीनको सही शिक्षा दिन पनि त्यत्तिकै आवश्यक हुन्छ ।

आजको समयमा सामाजिक सञ्जाल (टिकटक, इन्स्टाग्राम आदिल) ले, आधुनिक जीवनशैली र परिवर्तनशील सामाजिक वातावरणले नयाँ चुनौतीहरू सिर्जना गरिरहेका छन् । यस्तो अवस्थामा अभिभावकहरूको कर्तव्य हो कि उनीहरूले आफ्ना सन्तानको तरबियत कुरआन र सुन्नतको मार्गदर्शन अनुसार गरून् । जसले गर्दा भविष्यमा ती बच्चाहरुले सभ्य समाज निर्माण गर्नमा योगदान पुर्याउन सकुन् ।

सामाजिक परिवेश

आजभोलि शरीरमा नकाब र टाउकोमा हिजाब लगाएर मुस्लिम समुदायकी छोरीचेलीहरु नाच्दै भीडियो बनाएर फेसबुक, टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक संजालमा साझा गरिरहेकी छिन् । केही मुस्लिम चेलीहरु त छाडापनको हद पार गरी अर्धनग्न कपडा लगाएर भीडियो र फोटो विभिन्न सामाजिक संजालमा साझा गर्दैछिन् । जसले गर्दा सामाजिक मानमर्यादा मात्र नभइ उनको आफ्नो व्यक्तित्व समेत चकनाचूर भइ रहेकोछ ।

जबकि हेर्ने हो भने आजकल लुगाकै आधारमा मानिसहरूको ईमान, चरित्र वा धार्मिक पहिचानमाथि टिप्पणी गर्ने प्रवृत्ति पनि बढ्दो छ । यद्यपि इस्लामले पर्याप्त प्रमाणबिना कसैमाथि आरोप लगाउन वा अन्तिम निर्णय गर्न निषेध गरेको छ । यदि कुनै दृश्य शरीअतको विपरीत देखिए पनि मुसलमानले बुद्धिमत्ता, सदुपदेश र असल व्यवहारका साथ सम्झाउनु उपयुक्त हुन्छ, अपमान वा तिरस्कार गरी उसलाई हीनता बोध गराउनु होइन् ।

इस्लामले भन्छ छोरी रहमत हुन्, सजाय होइन् । रसूलुल्लाह ﷺ ले फरमाउनुभयो: जसले दुई छोरीको राम्रो पालनपोषण गर्‍यो, यहाँसम्म कि उनीहरू वयस्क भइन्, कियामतको दिन ऊ नबी ﷺ सँग निकट हुनेछ ।(सहीह मुस्लिम : २६३१) यस हदीसले स्पष्ट गर्छ कि छोरी बोझ होइनन्, बरु अल्लाहको रहमत र जन्नत प्राप्त गर्ने माध्यम हुन्। त्यसैले उनीहरूको सही इस्लामी तरबियत सही ढंगले पालनपोषण गर्नु सबैभन्दा ठूलो जिम्मेवारी हो । रसूलुल्लाह ﷺ ले फरमाउनुभयो: हया ईमानको एउटा शाखा हो। (सहीह बुखारी : ९) कुरआन करीममा अल्लाह तआलाले ईमान भएका पुरुष र महिलाहरू दुबैलाई आफ्ना दृष्टि संयमित राख्न र आफ्नो पवित्रताको रक्षा गर्न आदेश दिनुभएको छ। खासमा हया केवल पोशाकको नाम मात्र होइन् , यो सोच, व्यवहार, बोलीचाली र सामाजिक सम्बन्धमा पनि झल्किनुपर्छ ।

रसूलुल्लाह ﷺ ले फरमाउनुभयो: तिमीहरूमध्ये प्रत्येक व्यक्ति जिम्मेवार छ, र प्रत्येकसँग उसको जिम्मेवारीबारे सोधिनेछ । (सहीह बुखारी) अल्लाह तआलाले कुरआन मजीदमा पनि फरमाउनुभएको छ: “हे ईमानवालाहरू! आफूलाई र आफ्ना परिवारलाई आगोबाट बचाऊ।” (सूरह अत्- तहरीम : ६) त्यसैले आमाबुबाको कर्तव्य हो कि उनीहरूले आफ्ना सन्तानलाई नमाज, कुरआन, असल आचरण, हया र इस्लामी जीवनशैलीको शिक्षा दिनुपर्छ ।

भाँडा बनाउने कांचो माटो जस्तै बाल्यकाल व्यक्तित्व निर्माणको सबैभन्दा महत्वपूर्ण चरण हो । यही समयमा बालबालिकामा दीनप्रतिको प्रेम, नमाजको बानी, शालीनता, असल संस्कार र अल्लाहप्रतिको डर जगाइयो भने उनीहरूलाई भविष्यमा सही मार्गको बाटो बिराउने छैनन् । केवल कठोरता होइन् , प्रेम, बुद्धिमत्ता र राम्रो उदाहरणद्वारा गरिने पालनपोषण बढी प्रभावकारी हुन्छ । उनलाई बताउनुहोस् कि १६ वर्षीया मुजाहिदा फातिमा बिन्त अब्दुल्लाह जो युद्धको मैदानमा गाजीहरूलाई पानी खुवाउने क्रममा शहीद भएकी महिला मैदान-ए-जंगमा उभिएकी एक वीरांगना हुन् ।

नबीपाक अलैहिस्सलामको समयका महिलाहरूको उदाहरणीय योगदानका चर्चा गर्नुहोस् जस्तै, त्यतिबेला हजरत सैय्यदा खदिजा रजि. को ठूलो व्यावसायिक हैसियत र सम्मान थियो । हजरत सैय्यदा आयशा रजि. को जमलको युद्धमा राजनीतिक नेतृत्व तथा सहाबाहरूलाई फिक्ह र हदीसको शिक्षा दिने भूमिका निर्वाह गर्नुभयो ।

हजरत फातिमा (रजि.) को मस्जिद -ए – नबवीमा उभिएर आफ्नो अधिकार (फदक) का लागि आवाज उठाउने साहस गर्नुभयो । हजरत उमर (रजि.) ले शिफा बिन्त अब्दुल्लाहलाई मदिनाको मुख्य बजारको बजार निरीक्षक (मुहतसिब) बनाएका थिए। यदि महिलाको समाजमा देखिनु र जिम्मेवारी सम्हाल्नु निषेधित हुन्थ्यो भने, अमिरुल मोमिनीनले यस्तो निर्णय कहिल्यै गर्ने थिएनन् र सहाबाले त्यो कहिल्यै स्वीकार गर्दैन थिए।

बिडम्बना, कुरआन, हदीस र सहाबाको तरिकाबाट हटेर मुस्लिम समाजमा असल मुस्लिम महिला हुनुको मापदण्ड महिलाको ज्ञान, समझदारी, बुद्धि, नैतिकता वा चरित्रबाट होइन् । बरु उनी कति दबिएकी, कुण्ठित र अबला छिन् भन्ने आधारमा निर्धारण गर्न थालियो । त्यही मानसिकता र मान्यतालाई तोड्न कै लागि महिलाहरुले छाडा किसिमका पहिरनलाई विद्रोहको रुपमा अंगाल्नुलाई आफ्नो जीत ठान्न थालेकीछिन् ।

यद्यपि अभिभावकको जिम्मेवारी हो कि आफ्ना सन्तानलाई असल आचरण, उचित शिक्षा र उपभोग्य वस्तु उपलब्ध गराउनुको साथै असल र सभ्य नागरिक बनाउनका लागि इस्लामकी ती महान महिलाका जीवन र उनको योगदानहरुको बारे बच्चाहरुलाई जानकारी गराउनु पनि हो । जसमध्येका केहीको नाम माथि उल्लेख गरिएकोछ ।

स्वतन्त्रता र इस्लामी सीमा

इस्लामले शिक्षा, स्वास्थ्य, खेलकुद र व्यायामको विरोध गर्दैन् । तर यसको साथै हया, पर्दा र शरीअतले निर्धारण गरेका सीमाहरूको पालना गर्ने आदेश दिन्छ यिनै मुल्यमान्यताहरुलाई अन्य फरक धार्मिक समुदायहरुले पनि स्वीकार गरेको पाईन्छ । जिम गर्ने नाममा परपुरुषसँग टाँसिएर कसरत गर्ने कार्यलाई इस्लाम बाहेकका पनि सभ्य समुदायका व्यक्तिहरुले उचित मान्दैनन् । उदाहरणका लागि यदि कुनै मुस्लिम महिला जिम जान्छिन् वा व्यायाम गर्छिन् भने सके सम्म पर्दा, शालीनता र सुरक्षित वातावरणको ध्यान राख्नुपर्छ ।

महिलाहरूका लागि छुट्टै व्यवस्था, महिला प्रशिक्षक वा गैर-महरम पुरुषसँग अनावश्यक शारीरिक निकटता नहुने वातावरणलाई बढी उपयुक्त मानिन्छ । यसै गरी विद्यालय, कार्यालय र पसल आदिका लागि पनि यिनै कुराको ध्यान दिन आवश्यक छ । किनकि “इस्लाममा पर्दा केवल टाउको ढाक्ने कपडा र नकाब शरीर ढाक्ने लुगाको डिजाइन होइन् । पर्दाको उद्देश्य व्यक्तिको आचरण, चालचलन, दृष्टि र व्यवहारमा पनि देखिनुपर्छ । कसैले सही अर्थमा पर्दा गरेमा उसको व्यवहार पनि त्यो शालीनताको झलक देखिन्छ ।”

अभिभावकको जिम्मेवारी

आफु स्वयं नमाज, कुरआन र दीन र शरीयतमाथि अमल गरेर आफ्ना सन्तानका लागि आदर्श बन्नुपर्छ । छोराको साथै छोरीहरूलाई पनि दीन र आधुनिक दुबै शिक्षाको महत्व बुझाउनुपर्छ । बच्चाहरुलाई सुरक्षित र शालीन वातावरण उपलब्ध गराउने प्रयास गर्नुपर्छ ।

बच्चाहरुसँग मित्रसरह संवाद र व्यवहार राख्नुपर्छ जसले गर्दा उनीहरूले आफ्ना समस्या र जिज्ञासा खुलेर भन्नेछन् । नमाज पढ्नका लागि बच्चाहरुलाई उत्प्रेरित गर्नुका साथै आफु पनि नमाजको पाबन्द बनेर आफ्ना सन्तानको सही मार्गदर्शन र भलाइका लागि दुआ गर्नुपर्छ । यसका साथै आफ्नो सन्तानको निगरानी गर्नुपर्छ । आफ्नो बच्चाको गतिविधि उसका कृयाकलाप र साथीसंगीहरुको बारेमा पनि पूर्ण जानकारी राख्नुपर्छ ।

निष्कर्ष

इस्लामले छोरीलाई सम्मान, सुरक्षा, हया र उत्तम तरबियत प्रदान गर्न शिक्षा दिन्छ । न त उनीहरूलाई कुनै मार्गदर्शनबिना स्वतन्त्र छोड्नु उचित हुन्छ, न त कठोरता वा अपमानजनक व्यवहार गर्नु नै उचित हुन्छ । सही मार्ग भनेको प्रेम, बुद्धिमत्ता, दीनको शिक्षा र असल आचरणका साथ उनीहरूको पालनपोषण गर्नु हो।

यो बहस महिला शसक्तीकरणको विरुद्ध होइन् । शालीनता, मर्यादित र लज्जाशील पहिरन एक मोमिन महिलाकाे छनोट रोजाइ र आध्यात्मिक पहिचान बनोस् भनी हो । तसर्थ हामी सत्य, न्याय र शालिनताका साथ मानवीय आदर्श स्वरुप समाजमा आफु नै उदाहरण बन्न सक्नुपर्छ । अनि मात्र यो समाज सम्मानित र मर्यादित बन्न सक्नेछ ।