सामाजिक सञ्जाललाई अस्त्रको रूपमा प्रयोग गरेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले स्वयम् सञ्जाल आलोचनाको सिकार बन्ने निशानामा पर्दै गएको छ ।
रास्वपा सरकारले काम गर्ने समय पाओस् र प्रतिपक्षीको आलोचनाले तरङ्गित र दिगभ्रमित भई बाटो नबिराओस् भन्ने मनशायका साथ रास्वपा समर्थक तथा शुभचिन्तकहरूले सञ्जाल आलोचनाको चक्रव्यूह उल्लङ्घनीय सीमासम्म चलाउँदै आएका थिए र छन् ।
मनशाय जतिसुकै पवित्र भए पनि धेरैजसो सञ्जालका आलोचना हेर्न र पढ्न लायकका छैनन् । तिनले सामाजिक मर्यादाको हद पार गरेका छन् । सिङ्गो देशको नीति निर्माण गर्ने थलो संसदमा यसका बारेमा ठूल्ठूला बहस पनि चलेका छन् । सांसदहरूबाट गृहमन्त्रीको पटक पटक ध्यानाकर्षण गर्ने प्रयास पनि गरिएको छ ।
साइबर कानुनको कुरा पनि उठाइएको छ । तर पीडकलाई कानुनी दायरामा ल्याउने प्रभावकारी कदम अघि बढाइएको छैन । पीडक खुल्ला रूपमा माफी माग्न पनि तयार छैनन् । सञ्जालमा अभिव्यक्त निम्नकोटीका गालीगलौैज उच्चारण गर्न र सुनाउन नसकिने प्रकृतिका पनि छन् । यसले संस्कारहीनता र दण्डहीनतालाई अभिव्यक्त गरिरहेको देखिन्छ ।
अश्लिलता तथा फोहोरी गालीगलौज सबैभन्दा सहज र दुष्प्रभावकारी सञ्जाल मिसाइल बनिरहेका छन् । सञ्जालको नयाँ नयाँ प्रयोग, प्रयोगकर्ताको सुरूसुरूको कौतुहलता, कतिपय साइबरसम्बन्धी अज्ञानता, कसैको सांस्कृतिक हैसियत, उक्साहट, लहलहै, पार्टी वा नेताप्रतिको आशक्ति वा नियत आदिआदि कुराले सामाजिक सञ्जालमा अभिव्यक्त टिप्पणी विषाक्त बनाउँदै लगिरहेका छन् ।
तर सञ्जालमा अभिव्यक्त यी टिप्पणी र आलोचना रास्वपाको बालेन सरकारले देश र जनताका आवश्यकता र मनोभावनाको एक निस्चित समय सीमाभित्र उचित सम्बोधन गरोस् वा गर्नका लागि समय र मौका पाओस् भन्ने अभिप्रायले भरिएका भने छन् । विगतका सरकार र पार्टीका नेताहरूले नगरेका र थाति छोडेका जुगौंजुगका समस्या यस पटकको सरकारबाट हल गरियोस् भन्ने आशय आलोचनाभित्र लुकेका छन् ।
एकातिर अलोचना गरेर रास्वपा र यसका नेताहरूको संरक्षणार्थ बलियो कवज बनाइरहने, अर्कातिर नेताहरू र सरकारले यी सञ्जाल अनुयायीहरूको आशा र चाहना पूरा गर्ने कदम अघि नबढाइँदा अशिष्ट आलोचनाका तीर अब सरकार र रास्वपा नेतातिर क्रमशः सोझिन थालिसकेका छन् ।
कुनै पनि कुराको निरपेक्ष प्रयोग कहिल्यै पनि हुन सक्दैन । सापेक्षतामा यसको सार्थकता रहेको हुन्छ । अन्तरविरोधको नियमले पनि एउटै कुरालाई भित्र र बाहिर गरी एकैपटक दोहोरो मथन गरिरहेको हुन्छ । कुरा यत्ति हो, प्राथमिकता बाहिर छ वा भित्र ? अहिले देखिएका अशिष्ट आलोचनाका बाह्य प्राथमिता सरकारका काम गराइसँगै आन्तरिक प्राथमिकतामा सर्दै जान्छन् ।
जब कसैले आशातित प्रतिफल दिन असमर्थता प्रकट गर्छ, तब प्रहारको निशाना आन्तरिक समस्याको पहिचान र खोजीतिर मोडिन्छ । त्यतिबेला रास्वपाका समर्थक र शुभचिन्तक पार्टी, पार्टी नेता र सरकारतिर खनिन थाल्छन् ।
दुईतिहाईको जनादेश पाएको वर्तमान सरकारले प्रतिपक्षले काम गर्न दिएनन् भन्ने ठाउँ नै छैन । प्रतिपक्षी पुराना दल र त्यसका ‘टेस्टेड’ नेता–कार्यकर्ता भएकाले उनीहरूमा ‘हामी पो गर्छौं’ वा ‘हामीले पो सक्ने थियौं’ भन्ने नैतिक दम छैन ।
त्यसैले सञ्जाल आलोचनाको घुम्टोभित्र लुकेर मुस्कुराउने छुट सरकारलाई छैन । आलोचनाको यो धार पार्टी र सरकारभित्र फर्कदै जान थालिसकेको छ । समयक्रमसँगै यसले ‘रणचण्डी’को रूप धारण गर्दैछ ।
सत्ता प्राप्तिसँगै रास्वपा अबका दिनमा आन्तरिक विवादको झमेलामा फस्दै जानेछ । यो वस्तुगत नियम हो । यस्तो बेलामा सामाजिक सञ्जाल आत्मघाती बनेर भित्रतिर फर्कने खतरा निकै बढेर जान्छ । पार्टी अनुशासनका ‘दाम्ला चपाउने’ र आफ्नै ‘भकारोमा जुध्ने’ समयमा सामाजिक सञ्जाल भित्री प्रहारका छुरा साबित हुँदै जानेछन् ।
त्यसैले सामाजिक सञ्जालको दुरूपयोग गरेर सरकारको बचाउ गर्ने कुरामा मख्ख नपरेर देश र जनताका समस्या हल गर्दै अघि बढ्ने कुरालाई प्राथमिता दिन बालेन सरकार बेलैमा चनाखो हुनुपर्छ । साथै, सामाजिक सञ्जाललाई समय अनुकुल संयमित बनाउँदै कानुनको दायराभित्र खेल्न सिकाउनु पर्छ ।