• भाद्र ६ २०८३, शनिबार

इजरायली–टर्किस लडाकु विमान आमनेसामने, दुई शक्ति राष्ट्रबीच युद्धको खतरा

भाद्र ६ २०८३, शनिबार

काठमाडाैं । टर्की र इजरायलबीचको तनाव अहिले केवल कूटनीतिक आरोप–प्रत्यारोपमा सीमित छैन। सिरियाको आकाश र सैन्य संरचनालाई लिएर दुवै देश आमनेसामने हुने जोखिम बढेको छ।

सामाजिक सञ्जालमा पनि इजरायली र टर्किस लडाकु विमानका भिडियो भन्दै विभिन्न दृश्यहरू तीव्र रूपमा फैलिरहेका छन्। पछिल्लो तनावको केन्द्रमा सिरिया परेको छ।

इजरायलले सिरियामा रहेको अबु अल–दुहुर सैन्य हवाई अड्डामा हवाई हमला गरेपछि टर्कीले त्यसप्रति कडा आपत्ति जनाएको छ। उक्त सैन्य आधार टर्कीको सीमाबाट धेरै टाढा छैन र त्यहाँ टर्कीको सैन्य उपस्थिति  सम्बन्धी गतिविधि भइरहेको भन्ने इजरायली दाबी छ।

इजरायलले सिरियामा टर्कीको सैन्य उपस्थिति आफ्नो सुरक्षाका लागि खतरा बन्न सक्ने संकेत दिइरहेको छ। टर्की भने सिरियामा आफ्नो भूमिका र सुरक्षा सम्बन्धी चासोलाई निरन्तर अघि बढाइरहेको छ।

यही कारण अहिले प्रश्न उठ्न थालेको छ—सिरियाको आकाश कतै टर्की र इजरायलबीच प्रत्यक्ष सैन्य टकरावको नयाँ मैदान त बन्दै छैन  ?
त्यसमाथि दुवै देशका नेताबीचको भाषिक टकराव पनि चर्किएको छ। टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगानले इजरायलको गाजा नीतिको लामो समयदेखि कडा विरोध गर्दै आएका छन्।

अर्कोतर्फ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले एर्दोगानमाथि अत्यन्त कडा टिप्पणी गरेको छ। तर ती सबै भिडियो अहिलेको घटनाकै हुन् भन्ने निश्चित छैन। कतिपय पुराना युद्धका दृश्यलाई नयाँ घटनासँग जोडेर पनि फैलाइएको हुन सक्छ।

यथार्थ भने के हो भने—टर्की र इजरायलबीच अहिले प्रत्यक्ष युद्ध सुरु भएको छैन तर सिरियामा दुवै देशका रणनीतिक स्वार्थ ठोक्किँदै गएकाले सैन्य तनाव भने गम्भीर बन्दै गएको छ।

सिरियाको आकाशमा एउटा गलत कदम, एउटा गलत पहिचान वा सैन्य विमानबीचको अप्रत्याशित मुठभेडले परिस्थिति कति छिटो बिगार्न सक्छ भन्ने चिन्ता अहिले बढेको छ।