• श्रावण २८ २०८३, बिहीबार

रोल्पा पहिरोमा परि मृत्यु हुनेको संख्या सात पुग्यो, पाँचजना अझै बेपत्ता

श्रावण २८ २०८३, बिहीबार

काठमाडौं । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा गएराति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । पहिरोमा परी बेपत्ता पाँचजनाको खोजीकार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

पहिरोमा परी सोही ठाउँ बस्ने अन्दाजी २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगर घाइते छन् । उनीहरू दुवैजनालाई स्वास्थ्य चौकी थवाङबाट थप उपचारको लागि बुटवलतर्फ पठाइएको छ ।

पहिरोमा परी मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीया शान्ति पुनमगर, अन्दाजी ६५ वर्षीय कमलबहादुर पुनमगर, ४० वर्षीया जुनकुमारी पुनमगर, नौ वर्षीय अशिम पुनमगर, ६ वर्षीय अशोक पुनमगर, ७५ वर्षीय दलबहादुर पुनमगर र ७१ वर्षीया मनरखी पुनमगर छन् ।

मृत्यु हुनेहरूमध्ये एक महिला र दुई पुरुषको शव प्युठानको स्वर्गद्धारी नगरपालिका तथा माण्डवी गाउँपालिकास्थित माडी खोलाको किनारामा फेला परेको थियो ।

बेपत्ता हुनेहरूमा सोही ठाउँ बस्ने ८० वर्षीय अजम्बर पुनमगर, ७८ वर्षीय बलबहादुर पुनमगर, ७२ वर्षीय लिलबहादुर पुनमगर, ७१ वर्षीया मनि पुनमगर र ६७ वर्षीया हस्तकला पुनमगर छन् ।

पहिरोमा परी बेपत्ता भएकाहरूको खोजीकार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल गुल्म रोल्पा र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ । लगातार वर्षाको कारण लेदोसहितको पहिरो आइरहेको हुँदा उद्धार कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।