काठमाडौं : पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले विद्युतमा लगाएको भ्याट तत्काल फिर्ता लिन आग्रह गरेका छन्।
उनले जनतालाई भ्याट लगाउनुको सट्टा डेडिकेटेड र ट्रंक लाइनको अर्बौंको बक्यौता उठाउन तत्काल कदम चाल्न आग्रह गरेका हुन्।
नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशकसमेत रहेका घिसिङले सरकारले कृषकको सिचाई गर्ने विद्युत र जनताले पिउने खानेपानी लिफ्ट गर्ने विद्युतमा १३ प्रतिशत भ्याट लगाएको भन्दै आपत्ति जनाए।
‘सरकारले कृषकको सिचाइँ गर्ने विद्युत र जनताले पिउने खानेपानी लिफ्ट गर्ने विद्युतमा झन् १३ प्रतिशत भ्याट लगाएछ। हामीले सिचाइँको महसुल डिमाण्ड चार्ज छुट गरेर ७ रूपैंयाबाट करिब २ रूपैंया प्रति युनिट र सामुदायिक खानेपानी लिफ्टको डिमाण्ड चार्ज छुट गरेर ९ रूपैंयाबाट करिब ४ रूपैंया २० पैसाप्रति युनिट कायम गरेका थियौं।’ उनले सामाजिक सञ्जालमा भनेका छन्,‘कृषि सिचाईको लागि विद्युत नि:शुल्कै गर्दा पनि हुन्छ। यस्ता अत्यावश्यक क्षेत्रमा सहुलियत दिनुपर्नेमा उल्टै १३ प्रतिशत भ्याट लगाउने सरकारको कदम गलत छ।’
उनले किसानले उत्पादित वस्तुको मूल्य अझ घटाएर बेच्नु परेको स्मरण गराए। उनले भने,‘कृषकको मल, बीउ, ज्याला र कृषि यन्त्रको भाडा आदि सबैको भाउ बढेको बढ्दैछ। त्यसमाथि विद्युतमा पनि भ्याट। तर उत्पादित वस्तुको मूल्य अझ घटाएर बेच्नु परेको छ। कृषकले लिफ्ट सिंचाई नगरी खेति गर्न सकिँदैन। गाउँगाउँमा पानी लिफ्ट नगरी खानेपानी पिउन कठिन छ।’