• श्रावण २२ २०८३, शुक्रबार

रास्वपाकै सांसद प्रसाईंको प्रश्न–चुनाव प्रचारमा अनलाइन, अहिले जनताकाे लामो लाइन ?

श्रावण २२ २०८३, शुक्रबार

काठमाडौँ। रास्वपाका सांसद रमेश प्रसाईंले आफ्नै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारको आलोचना गरेका छन्।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा शून्य समयमा सांसद प्रसाईंले सरकारको कार्यशैली र जनसरोकारका मुद्दामा भइरहेको ढिलासुस्तीप्रति आफ्नै सरकारको विरोध गरेका हुन्।

सांसद प्रसाईंले निर्वाचनका बेला जनतामाझ लगिएका नारा र अहिलेको वास्तविकताबिचको खाडलले आफूलाई झस्काएको बताए।

‘हामीले निर्वाचन अगाडि ‘नो लाइन, केबल अनलाइन’ भन्ने नारासहित जनताको मत मागेका थियौँ,’ प्रसाईले भने, ‘तर आज त्यो नाराले मलाई झस्काइरहेको छ। अहिले अनलाइन होइन, बजारमा नागरिकको लामो लाइन मात्र देखिन्छ।’

सरकारी सेवाहरूलाई प्रविधिमैत्री बनाउने भनिए पनि व्यवहारमा नागरिकले सास्ती खेप्नुपरेको उनले उल्लेख गरे। अनलाइन सेवा भनिए पनि सर्भरमा बारम्बार आउने समस्याले नागरिकले दुःख पाएको उनको भनाइ थियो।

‘अनलाइन सेवा भनिए पनि सर्भर बिग्रेको बिग्रियै गर्छ, नागरिकले सास्ती पाएका छन्,’ उनले भने, ‘लामो लाइन बस्दा पनि नागरिकले सहजै ग्यास पाएका छैनन्। यो समस्याको तत्काल समाधान होस् भन्ने माग गर्दछु।’