काठमाडौँ । प्रहरी हेडक्वार्टरले सुनसरीबाट सुरु भएको प्रदर्शन र त्यसपछि उत्पन्न संवेदनशील परिस्थितिबारे अफवाह नफैलाउन आग्रह गरेको छ ।
प्रहरी प्रवक्ता (डीआईजी) अबिनारायण काफ्लेले शान्ति र सुरक्षा अवस्थालाई सामान्यीकरण गर्न सबैले संयम र परिपक्वता प्रदर्शन गर्नु आवश्यक रहेको बताए । शुक्रबार एक भिडियो सन्देश जारी गर्दै उनले सुनसरी र मधेसमा भइरहेको गतिविधिबारे अफवाह नफैलाउन आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘अफवाह र सामाजिक सद्भाव फैलाउने गतिनिधिबाट टाढा रहेर आफआफ्नो ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्दछौँ ।’
उनले सबैलाई राष्ट्रिय एकतालाई केन्द्रमा राखेर शान्ति र सुरक्षा अवस्थालाई समान्यीकरण गर्न सबैले परिपक्वता प्रदर्शन गर्नुपर्ने बताएका छन् । गृहमन्त्री सुधन गुरुङ सिरहा जाँदै गरेको काफ्लेले बताएका छन् । बिहीबार राति गुरुङ सुनसरी पुगेर मृतकका परिवारसँग ७ बुँदे सहमति गरेका थिए ।
उनले भनेका छन्, ‘गृहमन्त्री ज्यू, सिरहा जिल्ला पुगेको मृतका परिवार, घाइते र सरोकारवालाहरूसँग भेटेर उहाँहरूका माग र सरोकारबारे विषय सम्बोधन गर्न आवश्यक पहल र सहजीकरण गर्नुहुनेछ ।’