• श्रावण ३ २०८३, आईतवार

नेपाली सिक्काबाट चुच्चे नक्सा हटाउने सरकारको निर्णय राष्ट्रघाती छ : भीम रावल

श्रावण ३ २०८३, आईतवार

काठमाडौँ । नेकपाका नेता भीम रावलले एक रुपैयाँको नेपाली सिक्काबाट चुच्चे नक्सा हटाउने सरकारको निर्णय अर्को राष्ट्रघाती कदम भएको बताएका छन् ।

‘सरकारले गत असार ३२ गते एक रुपैयाँको नेपाली सिक्काबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटिएको नेपालको नक्सा हटाएर अमेरिकी सहयोगमा बनेको लु भ्याकुर भन्ने गुम्बाको चित्र राख्ने निर्णय गरी राष्ट्र बैंकलाई निर्देशन दिएको भन्ने कुरा बाहिर आएको छ’, रावलले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘यदि यस्तो गरिएको हो भने प्रधानमन्त्रीले नेपालले भारतको धेरै जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिए पछिको अर्को गम्भीर राष्ट्रघाती र नेपालको भौगोलिक अखण्डताविरुद्धको घातक निर्णय गरिएको ठहरिनेछ ।

नेता रावलले यसबारे राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल सरकारले जनतालाई तत्काल यथार्थ जानकारी गराउनुपर्ने पनि बताएका छन् ।