वीरेन्द्रनगर । कर्णाली प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्ने भएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को समर्थनमा उनी दोस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन् ।
बिहीबार नेकपा र कांग्रेस लगायत १६ जना सांसदले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
योसँगै शाहीलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । बिहीबार एमाले नेतृत्वको सरकारमा सहभागी कांग्रेसले आफ्ना ४ जना मन्त्रीलाई फिर्ता बोलाएको थियो । समर्थन फिर्ता नलिएको अवस्थामा बिहीबार एक्कासि प्रतिपक्षमा रहेको नेकपासँग मिलेर मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ ।
के छ अविश्वासको प्रस्तावमा ?
उपर्युक्त सम्बन्धमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री माननीय श्री यामलाल कँडेल माथि कर्णाली प्रदेश सभाको विश्वास छैन भनी हामी तपसिलका प्रदेश सभाका सदस्यहरूले नेपालको संविधानको धारा १८८ को उपधारा (४) तथा कर्णाली प्रदेश सभा नियमावली, २०७९ नियम १५२ को उपनियम (२) बमोजिम लिखित रूपमा अविश्वासको प्रस्ताव पेश गरेका छौं ।
साथै, नेपालको संविधानको धारा १८८ को उपधारा (५) बमोजिम कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री पदका लागि कर्णाली प्रदेशसभाका माननीय सदस्य श्री जीवनबहादुर शाहीलाई प्रस्तावित गर्दछौं ।
अतः यो सूचना दर्ता गरी कर्णाली प्रदेश सभा नियमावली, २०७९ नियम १५२ को उपनियम (३) बमोजिमको आवश्यक प्रक्रियाको लागि आगामी सभाको बैठकको कार्यसूचीमा समावेश गरी छलफल गराउने व्यवस्थाका लागि अनुरोध गर्दछौं ।
अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदमा नेकपाका तर्फबाट दल नेता मंगलबहादुर शाही, कृष्णबहादुर जिसी, उर्मिला विश्वकर्मा, कल्याणी खड्का, झुम्कित लामा, वीरबहादुर शाही, भिमप्रकाश शर्मा, महेन्द्र केसी, मिलन खड्का रोका र रणसिंह परियार छन् ।
कांग्रेसका तर्फबाट हिक्मतबहादुर विष्ट, वेदराज सिंह, सुरेश अधिकारी, विजया बुढा र कृष्णकुमार विसी रहेका छन् । यस्तै, दलविहीन अवस्थामा रहेका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा पनि सामेल भएका छन् । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही सुर्खेतमै भए पनि प्रस्तावमा हस्ताक्षर गरेका छैनन् ।
समर्थन फिर्ता लिन छाडेर किन गरियो अविश्वासको प्रस्ताव दर्ता ?
कांग्रेसका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले मुख्यमन्त्रीले राजीनामा नदिएकाले अविश्वासको प्रस्ताव दर्ता गरिएको बताए । ‘हाम्रो मन्त्रीहरूले हिजो सामूहिक राजीनामा दिनुभयो, दिइसकेपछि अब त्यो सरकार अल्पमतमा पर्यो नि,’ उनले भने, ‘अनि अल्पमतमा परिसकेपछि मुख्यमन्त्रीज्यूले राजीनामा दिनुहुन्छ होला भन्ने हामीले अपेक्षा गरेका थियौँ, उहाँको राजीनामा आएन ।’
सहमति अनुसार आधा–आधा कार्यकालको सहमति भएको भए पनि कँडेलको समय धेरै भइसकेको उनले बताए । उनले थपे, ‘उहाँले मार्ग प्रशस्त गर्दिनुहुन्छ होला भन्ने हाम्रो अपेक्षा थियो। त्यो अनुसार नभएपछि हामीले यो बाटो अवलम्बन गर्नुपर्ने स्थिति आयो।’
चारजना मन्त्रीहरू बाहिरिएपछि समर्थन फिर्ता लिए सरह रहे पनि त्यो कुरा मुख्यमन्त्रीले नबुझेको विष्ट बताउँछन् । ‘अब उहाँले राजीनामा दिनुहुन्छ कि फेस गर्नुहुन्छ, उहाँको कुरा भयो त्यो,’ उनले थपे, ‘उहाँले राजीनामा दिनुभयो भने एउटा हिसाबले अगाडि बढ्ला। अब म फेस गर्छु, हाउसमै पुर्याउँछु भन्नुहुन्छ भने हाउसमा छलफल होला ।’
विष्टले नेकपासँग अहिले कुनै सहमति नभएको बताए । ‘अहिले त्यस्तो सहमति त केही भाछैन। अहिलेलाई यो, यो बारेमा यति गरौँ भन्ने सम्मको भाछ, अरु बाँकी कुरा केही भाछैन,’ उनले भने ।