काठमाडौं। संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका गरी चारवटा समितिको बैठक आज बस्दैछ।
आज प्रतिनिधिसभा अन्तर्गतका अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ भने राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आजै बस्ने कार्यसूची रहेको छ। यी बैठकहरूमा विकास आयोजनाको प्रगति, नयाँ विधेयक र विभिन्न स्थलगत प्रतिवेदनहरूमाथि महत्त्वपूर्ण छलफल हुने जनाइएको छ।
आजको बैठकको सुरुवात बिहान साढे ८ बजे अर्थ समितिको छलफलबाट हुनेछ। उक्त बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारीहरूसँग चालू आर्थिक वर्षमा आयोगबाट सम्पादन भएका मुख्य–मुख्य कामकारबाहीका विषयमा समीक्षा गरिनेछ।
यसका साथै १६औँ आवधिक योजनाको कार्यान्वयनको अवस्था, मध्यकालीन खर्च संरचनाको प्रभावकारिता तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनासहित अन्य विकास आयोजनाहरूको हालको प्रगतिको अवस्थाबारे विस्तृत छलफल हुने कार्यसूची तय गरिएको छ।
दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ, जसमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गरिनेछ। सो छलफलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री, मन्त्रालयका सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशकका साथै विषय विज्ञ डा. गोपालकुमार चौधरीको समेत सहभागिता रहनेछ।
ठीक सोही समय अर्थात् दिउँसो १ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा भने बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल गरिने जनाइएको छ।
यसैगरी, राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ। उक्त बैठकमा समितिले केही समयअघि मधेश प्रदेशमा गरेको स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदामाथि सदस्यहरूबीच छलफल गर्ने र त्यसलाई अन्तिम रूप दिने कार्यसूची रहेको छ।