काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ओलीको तुलनामा आफूलाई कमजोर पार्न अन्य कसैको पनि सामर्थ्य नरहेको बताएका छन् ।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
प्रधानमन्त्री बालेन्द्र साहसँग आफूलाई सिध्याउने सामर्थ्य नरहेको र आफूलाई कमजोर पार्ने गतिविधिमा ओलीको हाइटमा प्रधानमन्त्री साह नरहेको पनि जिकिर गरे ।
आफूहरूले गल्ती गरेको भए ओलीले पहिल्यै आफूहरूलाई जेलमा हाल्ने सम्मको षड्यन्त्र बुनेको आरोप लगाए । ओलीले आफूहरूलाई कमजोर पार्न सबै सामर्थ्य लगाएको पनि उनको आरोप छ ।
संयोजक दाहालले भने, ‘हामी महाधिवेशनसम्म राम्रोसँग पार्टी बनाऊँ युवाहरूलाई ल्याऊँ नयाँ नेतृत्वको टिम बनाऊँ । महाधिवेशन पछि मलाई त यहाँ दिनदिनै जेल हाल्ने कुरा आउँछ, माधवजीलाई त मुद्दा लड्काएको छ पहिलेको सरकारले । कहिले दुबईमा प्रचण्डको १४० अर्ब छ भन्या छ, कताकता के–के हो के–के । केही भएको भए यो अहिलेको सरकारले गर्न पर्दैनथ्यो ।’
दाहालले थप भने, ‘बालेनजीको सरकारले माधवलाई र मलाई केही गर्न पर्दैनथ्यो केपी ओलीले काफी थियो । हाम्रो कहाँ कति छ, यिनलाई फसाउने कसरी र सिध्याउने कसरी भन्नेमा केपीको हाइटमा बालेनजी छैनन् । तर हामी फेरि वामपन्थी आन्दोलन चाहिन्छ भनेर सहकार्यको कुरा पनि गरिराखेकै हुन्छौँ । अब यो हाम्रो जिम्मेवारी बोध भन्नुस् उदारता भन्नुस् ।’
उनले आफ्नो बारेमा दुबईमा १ सय ४० अर्ब छ भनेर भ्रम फिँजाइएको भन्दै असन्तुष्टि समेत जनाए ।