काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहने गरी मदन भण्डारी फाउन्डेसनले आयोजना गर्ने एक कार्यक्रममा चार पूर्वप्रधानमन्त्री एकसाथ अतिथिका रूपमा सहभागी हुने भएका छन् ।
मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा फाउन्डेसनले यही असार १४ गते काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गर्ने ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीसहितको विशेष समारोहमा उनीहरू सहभागी हुन लागेका हुन् ।
उक्त कार्यक्रममा अतिथि वक्ताको रूपमा चार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल उपस्थित हुने फाउन्डेसनद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । सो कार्यक्रममा जनता समाजवादी पार्टीका उपेन्द्र यादव पनि सहभागी हुनेछन् ।
विज्ञप्तिमा फाउन्डेसनले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ अन्तर्गत २०८२ सालको पुरस्कार लेखक तथा अध्येता रमेश रुछेन राईको अनुसन्धानमूलक कृति ‘श्वेतशार्दूल (मदन भण्डारीको जीवन)’ लाई प्रदान गर्ने निर्णय गरिएको उल्लेख छ ।
विज्ञहरू सम्मिलित स्वतन्त्र तीन सदस्यीय छनोट समितिको सिफारिसको आधारमा मदन भण्डारी फाउन्डेसनले रमेश रुछेन राईको कृति ‘श्वेतशार्दूल’लाई यस वर्षको पुरस्कारका लागि छनोट गरिएको विज्ञप्तिमा जनाइएको छ ।
यस कृतिका लेखकलाई पुरस्कारस्वरूप दुई लाख रुपैयाँ नगद तथा सम्मानपत्र प्रदान गरिनेछ । पुरस्कार यही असार १४ गते राष्ट्रिय सभागृहमा ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीसहितको विशेष समारोहमा प्रदान गरिनेछ ।
सोही कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू ओली, प्रचण्ड, नेपाल र खनाल सहभागी हुन लागेका हुन् ।