असार ७ गते, नेपालगन्ज । क्रियाशिल पत्रकार महिलाहरुकालागि नेपालगन्जमा सञ्चालित तिनदिने क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ ।
सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जका प्रमुख ऋषिराज शर्माको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले पत्रकार महिलाहरुको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले आयोजना गरिएको तालिम प्रभावकारी भएकोमा खुशी ब्यक्त गरे । सहभागीहरुको प्रतिक्रियाले खुशी भएको बताउँदै प्रमुख अतिथि शर्माले आगामी दिनमा समेत पत्रकार महिलाहरुको क्षमता अभिबृद्धि तथा वृत्ति विकासमा सहकार्य गर्ने प्रतिबद्धता गरे ।
यसैगरी कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले तिन दिने तालिमले सहभागिहरुलाई ब्यवसायिक पत्रकारीता गर्न उत्प्रेरित गर्ने बताए । तालिमको विषयवस्तु अत्यन्तै प्रभावकारी रहेको बताउँदै तालिमबाट सिकेको कुरालाई ब्यवहारमा लागु गर्न अनुरोध गरे ।
उनले नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश पत्रकार महिलाहरुको क्षमता अभिबृद्धिलाई प्राथमिकिकरणमा राखेर काम गर्ने प्रतिबद्धता गरे ।
यसैगरी कार्यक्रमका बोल्दै बास नेपालका सल्लाहकार रुद्रप्रसाद तिमिल्सिनाले पत्रकारले सम्प्रेषण गरेको समाचारमामा सबैको ध्यान हुने भन्दै तथ्यमा रहेर समाचार लेख्न अनुरोध गरे । क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष सावित्री गिरीले तालिमले पत्रकारहरुमा नयाँ अपडेट भइ कार्यशैलीमा निखारता आउने विश्वास ब्यक्त गरे ।
बास नेपालका निर्देशक हेमराज भट्टले सञ्चालन गरेको समापन सत्रमा तालिमका विषयमा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी गराएका थिए ।
समापन सत्रमा सहभागिहरुको तर्फबाट प्रतिक्रिया मन्तब्य राख्दै सहभागी अनिता विश्वकर्मा र सावित्री विश्वकर्माले तालिमबाट डिजिटल पत्रकारीता, मोबाईल पत्रकारीता लगायत महत्वपूर्ण बिषयमा जानकारी अद्यावधिक भएको बताए । तालिमले बाँके र बर्दियाका महिला पत्रकारहरुको बिचमा सम्बन्ध र समन्वय बढेको उनीहरुको भनाई थियो ।
तालिम पश्चात सिकेको कुरालाई कार्यस्थलमा लागु गर्ने उनीहरुको प्रतिबद्धता थियो ।
तालिममा खोजमूलक पत्रकारीता, समाचारको तथ्य चेक, मिथ्या सूचनाका बिषयमा कृष्ण अधिकारी, नेतृत्व विकास, पत्रकारीतामा महिलाहरुको संलग्नता र आत्म विश्वासका बिषयमा अक्षरी पोख्रेल, भ्रष्टाचार बिरुद्ध समाचार लेखन सीपका विषयमा नमस्कार शाह, डिजिटल तथा अनलाईन पत्रकारीता डिजिटल मिडिया ट्रेन्डः अनलाइन र सामाजिक सञ्जालमार्फत् समाचार सम्प्रेषण गर्ने आधुनिक तरिका, मोबाइलबाटै गुणस्तरीय फोटो खिच्ने, अडियो-भिडियो रेकर्ड गर्ने र सम्पादन गर्ने सीपका बिषयमा शंकरप्रसाद खनाल, स्थानीय तहमा हुने भ्रष्टाचार र बजेट परिचालनबारे खोज गर्ने तरिकाका बिषयमा हेमराज भट्ट, लैंगिक उत्तरदायी रिपोटीङ्गका विषयमा सावित्री गिरी र महिला पत्रकारहरुको वृति विकास, फेलोशिप पत्रकार आचारसंहिता, महिला आत्मसुरक्षाका बिषयमा शुक्रऋषि चौलागाईंले प्रशिक्षण गरेका थिए ।
बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माले धन्यबाद ज्ञापन सहित समापन गरेको तालिम सामाजिक विकास डिभिजन कार्यालयको सहयोग, क्रियाशिल पत्रकार महिला बाँकेको समन्वय तथा बास नेपालको आयोजनामा असार ५ गतेदेखि ७ गते सम्म सञ्चालन भएको हो । तालिममा बाँके र बर्दियाका २५ जना क्रियाशिल पत्रकार महिलाहरुको सहभागिता रहेको बास नेपालका सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए ।