• असार ८ २०८३, सोमबार

यजीदको उदय र दंशकारी सत्ताको नालीबेली

असार ८ २०८३, सोमबार

पृष्ठभूमि

पैगम्बर हजरत मुहम्मद मुस्तफा सल्ललाहो अलैहे व आला आलेही वसल्लमले कायम गरेका इस्लामिक व्यवस्था र खिलाफत प्रणालीको अन्त्य भयो । खलिफा ए राशिद हजरत अबूबक्र (शासनकाल २ वर्ष ३ महिना), हजरत उमर फारुक (शासनकाल १० वर्ष ६ महिना), हजरत उस्मान गनी (शासनकाल १२ वर्ष), चौथो खलिफा हजरत अली इब्ने अबू तालिब (शासनकाल ४ वर्ष ९ महिना) र पांचौं खलिफा इमाम हसन अलैहिस्सलामको ६ महिनाको खिलाफत पश्चात ३० वर्ष सम्म कायम रहने भविष्यवाणी सत्य साबित भइ खिलाफत ए राशिदा समाप्त भयो ।

पाँचौं खलिफा ए राशिद इमाम हसनसंग गरिएको सुलह हसनमाथि पूर्ण कार्यान्वयन गरिएन् । उनलाई विष खुवाएर निर्ममतापूर्वक शहीद गरियो । इमाम हसन अलैहिस्सलामको शहादत पश्चात पैगम्बर हजरत मुहम्मद मुस्तफा सल्ललाहो अलैहे व आला आलेही वसल्लमको त्यो पवित्रवाणी पनि सही साबित भयो जसमा नबी ﷺ ले फरमाउनु भयो:
“मेरो पश्चात खिलाफत ३० वर्ष सम्म रहनेछ त्यसपछि काटि खाने बादशाहत (biting kingship) हुनेछ, जुनकि अल्लाह जब सम्म चाहन्छ तब सम्म रहनेछ फेरि त्यसलाई हटाइदिनेछ । त्यसपछि जबर्जस्ती र दमनकारी राजतन्त्र हुनेछ फेरि अल्लाह त्यसलाई पनि हटाइदिनेछ । (संदर्भ: मुसनद अहमद, जामी अत-तिरमिज़ी २२२६), इब्ने हिब्बान आदिमा उल्लेख छ । अल्बानीले पनि यसलाई सही बनेकाछन् । जुनकि पछि गएर सत्य साबित भयो र काटी खाने बादशाहत (दंशकारी सत्ता) को सुरुवात भयो । जसको संस्थापक अमीर मुआबिया बन्नपुगे । उनले खिलाफतको नियम विपरीत आफ्नो छोरा यजीदलाई स्वयं खलीफा नियुक्त गरे ।

जसले करबला इमाम हुसैन सहित उनको अनुयायी र परिवारलाई घेराबन्दी गरी उनीमाथि पानी बन्द गर्यो । तीन दिन सम्म भोकाप्यासा राखेर क्रूरताको हद पार गरी शहीद गर्यो । इमाम हुसैनको शहादत पश्चात पैगम्बर मुहम्मद मुस्तफा सल्ललाहो अलैहे व आला आलेही वसल्लमको घरका महिला र बालिकाहरुको अस्मिताको ख्याल गरेन् दमन र अत्याचार गरी उनलाई बेपर्दा गरी नगर नगर कैदी बनाएर परिक्रमा गरायो ।

आखिर यजीदले यति ठुलो हृदयविदारक घटना त्यतिकै उठेर र म गर्छु भनेर गर्न सकेको त पक्कै होईन् होला । किनकि अहिले पैगम्बर मुहम्मद मुस्तफा सल्ललाहो अलैहे व आला आलेही वसल्लमको वफात (संसारबाट बिदा) भएको पचास वर्ष मात्र भएको थियो । हजारौं सहाबा (अनुयायी) पैगम्बर मुहम्मद मुस्तफा सल्ललाहो अलैहे व आला आलेही वसल्लमका साथी जीवित नै थिए ।

जो आफ्नो आँखाले इमाम हुसैन र इमाम हसनलाई पैगम्बर मुहम्मद मुस्तफा सल्ललाहो अलैहे व आला आलेही वसल्लमको कांधमा सवारी गरेको, नमाज पढ्दा पिठ्यूँमा बसेको र इमाम अली अलैहिस्सलाम, सैय्यदा फातिमा सलामुल्लाहे अलैहा, इमाम हसन अलैहिस्सलाम र इमाम हुसैन अलैहिस्सलामसंगको प्रेम, लगाव र अपनत्व देखेकै थिए । तथापि यजीदले आले मुहम्मदलाई नै शहीद गर्ने यतिको ठुलो घटना घटाउन कसरी सफल भयो त ? आखिर यसको पछाडिको कारण के थियो त ?

के यजीद एक्लैको पहलमा यतिको घटना घटाउन सक्थ्यो वा यसमा पर्दा पछाडि अरुले पनि भूमिका खेलेका थिए ? हो यही सवालको जवाफ खोज्दै जाँदा यही लेखमा ती सबै पर्दा पछाडि रहेकाहरुको काम र विधि उजागर हुँदै जानेछन् । करबला व्यक्तिगत वा सत्ताको जंग थिएन् त्यो त वैचारिक मतभेदको जंग थियो । त्यस्तो वैचारिक मतभेद जहाँ एक तर्फ निरङ्कुश, क्रूर, अधर्मी र मानवता विरोधी शासक थियो भने अर्को तर्फ उदार, अहिंसावादी, धर्मका पालक, मानवता प्रेमी र सत्यवादी इमाम हुसैन अलैहिस्सलाम थिए ।

जब जब करबलाको जिक्र हुनेछ जब जब इमाम हुसैन अलैहिस्सलामको महिमा मण्डन गरिनेछ तब यजीद पलीदको नाम पनि लिइनेछ । किनकि करबला केवल इतिहासको एक दुःखद घटना मात्र होईन्, यो सत्य र असत्य बीचको निर्णायक परिणाम हो । इमाम हुसैन अलैहिस्सलामले आफ्नो र आफ्ना आफन्तहरुको ज्यानको आहुति दिएर सम्पूर्ण मानवतालाई यो सन्देश दिनुभयो कि अत्याचार, व्यभिचार, अराजकता, अमानवीयता आतंकवाद निरङकुशता र क्रूरताको सामु झुक्नु एक मोमिनको आन-बान-शान होईन् ।

करबलाबाट समस्त मानवतालाई यो सन्देश मिलेकोछ कि अत्याचारको विरुद्ध डटेर उभिनू, चाहे संसारले एक्लै छाडिदेओस् तर पनि पछि नहट्नू । करबलाको मैदानमा असत्य र अधर्मका विरुद्ध लडेर शहीद हुनेहरुको चर्चा यस पछिको लेखमा गरिनेछ । यस लेखमा करबलाको शहादत हुनु पछाडिको पृष्ठभूमिको बारेमा चर्चा गर्नु आवश्यक छ । जसले गर्दा पाठकहरुलाई बुझ्न सजिलो होस् ।

यसरी तयार भयो परिवेश

पैगम्बरे इस्लाम नबीपाकको आगमन भन्दा पहिला संसारमा अनैतिक, अमर्यादित रीतिरिवाज र कुसंस्कार कायम रहेकोथियो । उहाँ आइसकेपछि यी कुराहरुमाथि प्रतिबंध लगाउनुभयो । विधवा, बालिका, महिला, वृद्धा , आमाबुवा, छोराछोरी, छिमेकी, मजदुर यहाँ सम्मकि जनावरलाई समेत अधिकार दिलाउनुभयो । उहाँकै अनुयायी भइ मौला अली पनि त्यही पथमा हिड्नुभयो । मौला अली मात्र कहाँ हो र सैय्यदा फातिमा पनि त्यही पथमा हिड्नुभयो । इमाम हसन अलैहिस्सलाम पनि त्यही पथमा हिड्नुभयो । इमाम हुसैन अलैहिस्सलाम पनि उहाँकै पथमा हिड्नुभयो र कसैलाई पनि शरीयते इस्लामको जरोलाई हल्लिन र हल्लाउन दिनु भएन् ।

इस्लामिक इतिहासमा सबैभन्दा घृणित नाम हो यजीद इब्ने मुआबिया इब्ने अबू सूफियान । किनकि इस्लामिक इतिहासकारहरुका अनुसार यजीदले सम्पूर्ण मानवतालाई नै लज्जित बनाउने अमानवीय, असभ्य र अस्वीकार्य कामहरु गरेको थियो । यजीद इब्न मुआबिया इब्न अबू सुफियानको जन्म करिब २७ हिजरीमा सिरिया भन्ने ठाउँमा एक इसाई महिलाको गर्भबाट भएको थियो । ऊ आफ्नो मावलीमा रक्सी सेवन गर्दै, बांनरको नाच देख्दै, जनावरहरुसंग रमाउँदै र जुवातास खेल्दै हुर्केको थियो । यजीद फासिक थियो अर्थात उसले नमाज पढ्दैन् थियो ।

विलासिताको जीवनशैलीमा हुर्केको यजीद इब्ने मुआबिया इब्ने अबू सूफियानको जीवनमा इस्लामले निषेध गरेका हरेक काम गर्नु नै उसको दिनचर्या थियो । रक्सी जुवातास ,ब्याज लेनदेन , वेश्यावृति, बांदरको नाच हेर्ने, कुकुरसंग खेल्ने, बांसुरी बजाउने, इस्लाममा निषेध गरिएको नाता (महरम जस्तैः फुफू, भाई, बहिनी, सौतेनी आमा आदि ) संग विवाह गर्नु गराउनु, अनैतिक सम्बन्ध राख्नु, महिलाहिंसा , विधवा र गरीबको अपमान , समाजमा अन्याय र अत्याचार गर्नु यजीदको बानी थियो ।

उसले आफ्नो शासनकालमा दमनपुर्वक ती अनैतिक, अमर्यादित, कुसंस्कार र इस्लाममा निषेधित कार्यहरुलाई नीतिगत व्यवस्थाको रूपमा स्थापित गर्न खोजेको थियो । यजीदले गरेका कार्यलाई हेर्दा यस्तो लाग्छ कि अहलेबैत र मुहम्मद र आले मुहम्मदसंगको घृणाभाव र क्रूरता त उसलाई आफ्नो पुर्वजहरुबाट वंशाणुगत गुणको रुपमा मिलेको थियो । यजीदको हजुरबुवा अबू सूफियानले इस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मद मुस्तफा सल्ललाहो अलैहे व आला आलेही वसल्लमका विरुद्ध पटक पटक युद्ध गरेको भनी इतिहासकारहरुले लेखेकाछन् ।

यजीदको हजुरआमा जसको नाम हिन्दा थियो, उसले हजरत मुहम्मद मुस्तफा सल्ललाहो अलैहे व आला आलेही वसल्लमका काका हजरत अमीर हम्जा जब युद्धमा शहीद गरिए तब उहाँको कलेजो निकालेर चपाएकी थिई । जब युद्धमा हजरत मुहम्मद मुस्तफा सल्ललाहो अलैहे व आला आलेही वसल्लमसहित इस्लामको विजयी भयो । त्यसपछि हिन्दा र अबू सूफियानले माफी मागेर ज्यान जोगाएका थिए । त्यतिबेला हजरत मुहम्मद मुस्तफा सल्ललाहो अलैहे व आला आलेही वसल्लमले भन्नुभएको थियो कि “अब हिन्दा र अबू सूफियान तिमी दुइटै कहिल्यै मेरो सामु न आउनू।”

यजीदको बुवा अमीर मुआबिया इब्ने अबू सूफियान थिए । उनको बारेमा सहीह मुस्लिममा उल्लेख छ: मुआबिया इब्ने अबू सुफ़यानले साद इब्ने अबी वक़्क़ास (रजि.) लाई आदेश दिए कि “अबू तुराब (हजरत अली अलैहिस्सलाम) माथि सबोसितम (गाली/लानत) दिनु।” साद इब्ने अबी वकासले जवाफ दिए: “जब सम्म तीन कुराहरू छन् जुन रसूलुल्लाह ﷺ ले अलीको बारेमा फरमाउनुभएको छ, म उनीहरूलाई कहिल्यै गाली दिन सक्दिन” । (सहीह मुस्लिम, किताब फ़ज़ाइलुस्सहाबा, बाब मिन फ़ज़ाइल अली इब्न अबी तालिब हदीस नम्बर २४०४)

यो रिवायतले देखाउँछ कि अमीर मुआबियाले अली अलैहिस्सलामलाई गाली दिन आदेश दिएका थिए। अमीर मुआवियाको समयमा र पछिका बनूउमैय्याका खलीफाहरू जस्तै मुग़ीरा इब्ने शुएबा, मरवान बिन हकम आदिका गभर्नरहरूले जुमाको खुत्बामा मिम्बरमा हजरत अली अलैहिस्सलाममाथि लानत पठाउने कुप्रथा सुरु गरे । जुनकि प्रथाको रुपमा करिब ६० देखि ७० वर्षसम्म चलिरह्यो ।

पछि उमर इब्ने अब्दुल अज़ीज़ (रह.) ले यस कार्यलाई रोकेका थिए । धेरै इतिहासकारहरू जस्तै तबरी, इब्ने कसीर आदिले पनि यस घटनाको बारेमा आफ्नो किताबहरुमा उल्लेख गरेका छन् । अमीर मुआबिया इब्ने अबू सूफियानले मौला अली अलैहिस्सलामको पालामा उहाँको खिलाफत अस्वीकार गरी मौला अलीको विरुद्ध आफ्नो नयाँ खिलाफत कायम गरेको भनी इस्लामिक इतिहासकारहरुले लेखेका छन् ।

मौला अली अलैहिस्सलामका खिलाफतको समयमा खानाजंगी (गृहयुद्ध) धेरै भए । जसमध्ये जंग ए जमल सन् ३६ हिजरीमा बसरा (इराक) मा भयो । जुनकि अली इब्ने अबूतालिबको विरुद्ध उम्मुल मोमिनीन हजरत आईशा सिद्दीकाको पक्षबाट हजरत तल्हा र जुबेरसंग भएको थियो । त्यो जंग हजरत उस्मानको शहादत पश्चात राजनीतिक तनाव, असन्तुष्टि र अनविज्ञताको कारण भएको थियो ।

(सहीह अल-बुखारी हदीस नम्बर २८१२) मा लेखिएको छ कि “हामी नबी ﷺ को मस्जिदको ईंटहरू एक-एक गरेर बोकेर ल्याइरहेका थियौं, तर अम्मार बिन यासिर रजियल्लाहु अन्हुले दुई-दुई ईंट बोकेर ल्याइरहेका थिए । त्यतिबेला नबी करिम ﷺ त्यहाँबाट गुज्रिनुभयो, उहाँले अम्मारको टाउकोबाट धुलो झारिदिनुभयो र फरमाउनुभयो : “अफसोस! अम्मारलाई एक विद्रोही समुह (बागी जमात) ले मार्नेछ ।

अम्मार तिनीहरूलाई अल्लाहको (आज्ञा पालनको) तर्फ आह्वान गरिरहेका हुनेछन्, तर तिनीहरूले उनीहरूलाई नर्क (जहन्नम) तर्फ बोलाईरहेका हुनेछन्।” यो हदीस सहीह छ र इमाम बुखारीको किताबमा छ । हजरत अम्मार बिन यासिर रजियल्लाहु अन्हुको शहादतको बारेमा रसूलुल्लाह ﷺ ले गर्नु भएको भविष्यवाणी, जुनकि जंग-ए-सिफ्फीनमा पूरा भयो ।

सन् ३७ हिजरीमा जंग ए सिफ्फीनको नेतृत्व अमीर मुआबिया इब्ने अबू सूफियानले गरेको थिए । जंग ए सिफ्फीन हुनुको मुख्य कारण थियो, हजरत उस्मान गनी रजिअल्लाहको शहादत पश्चात रगतले भरिएको उनको कुर्ता शामको जामे मस्जिदमा टंगाएर यो भनिनु कि हजरत उस्मान शहीद गरिए तसर्थ अब उनको शहादतको प्रतिशोध हामीले लिनुछ । जुन कार्यले जनभावनालाई भडकाएर आक्रोशित बनायो । जबकि हजरत उस्मानलाई कसले शहीद गरेको थियो यसको बारेमा कसैलाई यकीन जानकारी थिएन् ।

त्यसपछि सन् ३८ हिजरीमा जंग-ए-नहरवान भयो । यो युद्ध खारिजी विद्रोही समूह विरुद्ध लडिएको थियो । जो पहिला अली इब्ने अबूतालिबको सेनामा थिए तर जंग -ए – सिफ्फीनपछि अली इब्ने अबूतालिब र मुआबिया इब्ने अबू सूफियान बीचको विवाद समाधान गर्न जुन तहकीम (मध्यस्थता) स्वीकार गरियो । केही मानिसहरूले यसलाई अल्लाहको आदेशको सट्टा मानिसको फैसला स्वीकार गरिएको” भनी विरोध गर्न थाले । उनीहरूले “ला हुक्मा इल्ला लिल्लाह” (हुकुम केवल अल्लाहकै हो) भन्ने नारा लगाए र मौला अलीको बैअत (समर्थन) तोडिदिए ।

समर्थन तोड्ने तिनै खारिजीहरूले समाजमा अशान्ति फैलाउन थाले, निर्दोष मानिसहरूको हत्या गर्न थाले र खुल्ला विद्रोहमा उत्रिए । जब अवस्था नियन्त्रण भन्दा बाहिर जान थाल्यो, तब मौला अलीले उनीहरूको हिंसा रोक्न र शान्ति–सुरक्षा कायम गर्न सेना पठाउनुभयो । यसै क्रममा दुवै पक्षबीच संघर्ष भयो । यहाँ हदीसलाई कोड गरी कसैलाई आरोप लगाउन खोजिएको होइन् मात्रै सही हदीसमा जे लेखिएको छ त्यो कुरा समाज सामु साझा गर्न खोजिएको छ । समाजले आफ्नो विवेकको प्रयोग गरी सही गलत आफै छुट्टियाउनेछ ।

सन् ४० हिजरीमा पैगम्बर मुहम्मद मुस्तफा सल्ललाहो अलैहे व आला आलेही वसल्लमका ज्वाईं मौला अली अलैहिस्सलामलाई कुफाको मस्जिदमा विषालु तरवारले टाउकोमा हानेर शहीद गराईयो । विषालु तरवारले शहीद गर्ने अब्दुर्रहमान इब्न मुल्जिम एक खारिजी विचारधारासँग सम्बन्धित व्यक्ति थियो । उसले किन शहीद गर्यो कुनै छानबिन गरिएन् कि आखिर कसको आदेशमा किन कुन कारणले मुल्जिमले उहाँलाई शहीद गरेको थियो । जबकि पैगम्बर मुहम्मद मुस्तफा सल्ललाहो अलैहे व आला आलेही वसल्लमको कतियौं पवित्रवाणी हदीसको रुपमा मौला अली अलैहिस्सलामको प्रशंसामा उल्लेख रहेछन् ।

सन् ४१ हिजरीमा इमाम हसन खलिफा चुनिए । उनले आफ्नो खिलाफतको समयमा “सुलह हसन” (सम्झौता) गरेर खिलाफत अमीर मुआबियालाई सुम्पिदिए । सन् ५० हिजरीमा बनू उमैय्याको खिलाफतको समयमा नै पैगम्बर मुहम्मद मुस्तफा सल्ललाहो अलैहे व आला आलेही वसल्लमका नाति मौला अली अलैहिस्सलामका जेठा छोरा इमाम हसन अलैहिस्सलामलाई तीन पटक विष खुवाइयो ।

अन्ततः तेस्रो पटकको विष यति शक्तिशाली थियो कि उनी शहीद भए । यति मात्र होइन् शहादत पश्चात मलामी लग्न लागेको बेला बाटैमा उहाँको लाशमाथि तीरको वर्षा गरियो । संसारको इतिहासमा यो पहिलो मलामी (जनाजा) थियो जुन कि घरबाट निस्केर दफन नभइकनै फेरि घर फर्केर आएको थियो । लाशमाथि गरिएको आक्रमणका कारण पुरै शरीरबाट बगेको रगतले कात्रो रातो भइहालेको थियो ।

त्यही रगत्ताम्मे कात्रो फेर्नकै लागि इमाम हसन अलैहिस्सलामको जनाजा घर फिर्ता आएको थियो । इमाम हसन अलैहिस्सलामलाई बनू उमैय्याको खिलाफतको समयमा शहीद गरियो तर कुनै छानबिन गरिएन् । कसैलाई कुनै सजाय भएन् । उहाँको लाशमाथि तीरको वर्षा कसले गरायो किन गरायो राज्यद्वारा कुनै खोजबिन भएन् । जस जसले तीरको वर्षा गर्ने जस्तो यो अमानवीय कार्य गरे उनलाई कुनै सजाय भएन् । यस्तो परिवेशमा हुर्केको यजीदले के सिको गर्थ्यो र । यजीद झन् क्रूर शासकको स्थापित हुन पुग्यो ।

इतिहासकारहरुले लेखेकाछन् कि आफ्नो छोरा यजीदलाई आफ्नो उत्तराधिकारी बनाउने अभियान अमीर मुआबियाले सन् ५६ हिजरी बाट नै तिव्र गरि भित्रभित्रै बैयत लिन थालेका थिए । जबकि हेर्ने हो भने उता मक्का मुकर्मामा अब्दुल्लाह बिन जुबेर थिए जो हजरत जुबेरका छोरा हजरत अबुबक्रका नाति थिए । हजरत अब्दुल्लाह इब्ने उमर थिए जो खलिफा हजरत उमरका छोरा थिए ।

हजरत अब्दुल्लाह इब्ने अब्बास जो पैगम्बरका काका हजरत अब्बासका छोरा थिए । यता मदीना शरीफमा स्वयं पैगम्बर हजरत मुहम्मद मुस्तफा सल्ललाहो अलैहे व आला आलेही वसल्लमका नाति चौथो खलिफा हजरत अली इब्ने अबूतालिबका छोरा इमाम हुसैन अलैहिस्सलाम थिए । यी ती व्यक्तित्वहरु हुन् जो पैगम्बरका सहाबा थिए साँच्चिकै खिलाफतको हकदार थिए । यतिका योग्य, दक्ष र हकदार व्यक्तित्वहरुको उपस्थितिमा अमीर मुआबियाले आफ्नो छोरा यजीद जो न त सहाबा थियो न शरीयत ए इस्लामको अनुयायी नै । जसको पालनपोषण एक इसाई परिवारमा इसाई आमाको हातबाट भएको थियो । त्यस्तो अयोग्य, दुष्ट र पापीलाई खलिफा नियुक्त गर्न चारैतिर पहल थालिएको थियो ।

अन्तवगत्व सन् ६० हिजरीमा यजीदको बुवा मुआविया इब्ने अबू सूफियानले ख़िलाफ़तलाई वंशानुगत बादशाहतमा परिणत गरी आफ्नो छोरा यजीदलाई उत्तराधिकारी नियुक्त गरिदिए । राज्यको हरेक ठाउँमा यो सूचना पुर्याइयो कि अमीर मुआबिया अब जीवनको अन्तिम समयमा छन् । तसर्थ आफु मरेपछि युद्ध नहोस् भनी स्वयं आफ्नो छोरालाई उत्ताराधिकारी नियुक्त गर्दैछन् ।

मदीना शरीफमा पनि यही सूचना साझा गर्दा आधा कुरा मात्र भन्ना लगाए आधा सूचनामा नेतृत्वकर्ता नियुक्त गर्ने कुरा त गरियो तर आफ्नै छोरालाई गर्दैछु भन्ने कुरा लुकाइयो । अन्ततः अमीर मुआबिया इब्ने अबू सूफियानको मृत्यु पश्चात यजीद जस्तो अधर्मी, अत्याचारी, बलात्कारी र आतंकवादी खिलाफतको आसनमा सत्तासीन हुन पुग्यो । जबकि त्यसअघि ख़िलाफ़तका लागि खलीफा मुख्य रूपमा निर्वाचन वा सहमतिको आधारमा चयन गरिने गरिएको अभ्यास थियो ।

यजीदको सबै करतूत, मानवता र इस्लाम विरोधी कार्य इमाम हुसैन इब्न अली (पैगम्बर मुहम्मद ﷺ को नाति) लाई थाहा नै थियो । तसर्थ इमाम हुसैनले यजीदलाई बैअत (समर्थन) गर्न अस्वीकार गरे । उता कुफाबासीले उनलाई पत्र लेखेर सत्ता सम्हाल्न आउनुहोस् हामी तपाईंलाई समर्थन गर्नेछौं भनी बोलाए । इमाम हुसैन अलैहिस्सलाम आफ्नो परिवारका सदस्य र आफ्ना अनुयायीहरुलाई लिएर कुफाबासीको पुकारमाथि घरबाट निस्किनुभयो । जहाँ उनलाई बाटोमै घेराबन्दी गरी रोकियो र पानी बन्द गरियो शहरे फुरातमाथि पहरा लगाइयो ।

यजीदले सत्ताको मातमा झोक्किएर आफ्नो सेना र कमान्डरहरुलाई आदेश दियो कि त इमाम हुसैनको समर्थन लिएर आऊ कि उनलाई मारिदेऊ। सन् ६१ हिजरीमा सेनाले (जसको नेतृत्व उबैदुल्लाह इब्ने जियादले गरिरहेको थियो) करबलामा इमाम हुसैन र उनका सहयोगी, भाइभारदार, छ महिनाका दुधमुखे बालक अली असगर लगायतलाई निर्ममतापूर्वक शहीद गरिदियो ।

करबलाको शहादत मुसलमानहरूका लागि अत्यन्त महत्वपूर्ण र दुःखद छ । करबलाको शहादत पश्चात यजीदी सेनाद्वारा शहीदहरूको लाशको बेहुर्मती गरियो । लाशमाथि घोडाहरु दौडाइए लाशका कपडा समेत लुटिए । खेमाहरुमा आगो लगाइयो । सैय्यदजादीहरुलाई बेपर्दा गरी कैदी बनाएर बाँधेर विभिन्न शहरमा परिक्रमा गराइयो । यजीदले गरेका पापहरुको अन्त्य हुने भयो उसको अन्तिम समय आयो । इमाम हुसैन अलैहिस्सलाम र उनका साथीहरुलाई शहीद गरेको तीन वर्ष नपुग्दै सन् ६४ हिजरीमा करिब ३७ वर्षको उमेरमा उसको मृत्यु भयो ।

यजीद इब्ने मुआबिया इब्ने अबू सूफियान फासिक फाजिर (पापी), क्रूर, अधर्मी, अत्याचारी, बलात्कारी र एक आतंककारी थियो । यजीद र उसको आदेशपालकहरु अनाहक इमाम हुसैन लगायत तिनका साथीहरु समेत ७२ जना निर्दोषहरुलाई निर्ममतापूर्वक शहीद गर्ने हत्यारा हुन् ।

कुरआन मजीद सुरह मुहम्मद आयत नं २२ र २३ मा लेखिएको छ जसको अनुवाद छ: “हे मुनाफिकहरू ! तिमीहरूबाट यो कुनै नयाँ कुरा होइन् कि यदि तिमीहरू हाकिम/शासक बन्छौ भने देशमा फसाद गर्न थाल्छौ र आफ्ना सम्बन्धहरूलाई तोड्छौ । यिनै ती व्यक्ति हुन् जसमाथि अल्लाहले लानत गरेको छ।” यसर्थ अब यजीद इब्ने मुआबिया इब्ने अबू सुफियानमाथि कयामत सम्म लानत भइ नै रहनेछ ।