• असार ६ २०८३, शनिबार

प्रम बालेनलाई मेयर साहको चेतावनी : स्थानीय तहलाई स्वतन्त्र तरिकाले काम गर्न दिनुस्

असार ६ २०८३, शनिबार

काठमाडौँ l रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले सङ्घीय सरकारको अनावश्यक एवं गैरकानुनी हस्तक्षेपले सर्वसाधारणले सेवा, सुविधा पाउन नसकेको टिप्पणी गरेकी छन् ।

सङ्घीय सरकारको अनावश्यक एवं गैरकानुनी हस्तक्षेप नरोकिए जनता अब त्यसको प्रतिकार गर्न तयार रहेको उनले बताइन् । पालिकाबाट दिँदै आएको सेवा, सुविधाहरू रोक्ने षडयन्त्रसहित सङ्घीय सरकारले हस्तक्षेप गरेको गुनासो उनले गरिन् ।

मौलापुर नगरपालिकामा सङ्घीय सरकारको तर्फबाट भइरहेको अनावश्यक एवं गैर कानुनी हस्तक्षेपले सर्वसाधारणले पाउँदै आइरहेको सेवा, सुविधा अवरुद्ध भइरहेको बताउँदै उनले यसलाई जनस्तरबाटै अब प्रतिकार गरिने बताइन् ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका कर्मचारीले पालिकाको परिषद्का निर्णय कार्यान्वयन गर्नुको साटो राजनीति गरिरहेकाले यस्ता हर्कत स्वीकार्य नभएको चेतावनी दिइन् ।

यसबारेमा सामान्य प्रशासन मन्त्री प्रतिभा रावललाई जानकार भए पनि मन्त्रीले नै बालेन सरकारको सुशासनको धज्जी उडाउन लागि परेको उनले बताइन् ।

निःशुल्क बिजुली, निःशुल्क पानी, छोरीसँग मेयर लगायतका कार्यक्रमहरू मौलापुरको लोकप्रिय कार्यक्रम भएको बताउँदै उनले यस्ता कार्यक्रमहरू सङ्घीय सरकारको अनावश्यक एवं गैरकानुनी हस्तक्षेपले प्रभावित भएको बताइन ।

बर्षौदेखि कार्यान्वयनमा रहेका यी कार्यक्रमहरू सङ्घीय सरकारको हस्तक्षेपका कारण अवरुद्ध भएको बताउँदै उनले यसलाई जसरी पनि सुचारु गराउने उद्घोष गरिन् ।