• असार ४ २०८३, बिहीबार

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

असार ४ २०८३, बिहीबार

सिन्धुली l पूर्व विद्यार्थी समाज, श्री माध्यमिक विद्यालय मझुवादोभान, तीनपाटन–५ सिन्धुलीले एसईईमा उत्कृष्ट नतिजा ल्याउने तथा जेहेन्दार विद्यार्थीलाई सम्मान गरेको छ।

शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी २७ विद्यार्थीमध्ये तीनपाटन–५, शनीटारका नवीन तामाङले ३.४६ जीपीए प्राप्त गरी उत्कृष्ट नतिजा ल्याएकाले सम्मान गरिएको समाजले जनाएको छ।

समाजका आजीवन विशिष्ट सदस्य तथा हाल अमेरिकाको न्यूयोर्कमा रहेका पूर्व विद्यार्थी देवबहादुर बाराकोटीको आर्थिक सहयोगमा तामाङलाई ११ हजार ५ सय ५५ रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो। पुरस्कार विद्यार्थीका पिता चोकबहादुर बाराकोटी र समाजका वरिष्ठ उपाध्यक्ष लीलाबहादुर पूर्वछानेले हस्तान्तरण गरेका थिए।

त्यसैगरी, एसईई उत्तीर्ण गरेका सबै विद्यार्थीलाई खादा, माला र अबिरसहित बधाई तथा शुभकामना दिइएको थियो।

कक्षा ४ देखि १० सम्म अध्ययनरत विद्यार्थीमध्ये शिक्षकहरूको सिफारिसका आधारमा छनोट भएकी तीनपाटन–५, डुम्रेबेशीकी गीता कुमारी सार्कीलाई जेहेन्दार विद्यार्थीका रूपमा ५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिनेशकुमार रमौली र शिक्षक अभिभावक संघका अध्यक्ष चित्रबहादुर मग्राती विशेष अतिथि थिए।

कार्यक्रममा वक्ताहरूले सामाजिक तथा शैक्षिक क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले स्थापना भएको पूर्व विद्यार्थी समाजको पहल सकारात्मक रहेको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

समाजका वरिष्ठ उपाध्यक्ष पूर्वछानेले संस्थाको स्थापना, उद्देश्य र भावी योजनाबारे जानकारी गराएका थिए। कार्यक्रमको सञ्चालन सचिव लिलाराम फुयालले गरेका थिए।