• जेष्ठ ८ २०८३, शुक्रबार

अमेरिकाविरुद्ध नेपालकाे १२२ रनको फराकिलाे जित

जेष्ठ ८ २०८३, शुक्रबार

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु त्रिकोणात्मक एक दिवसीय शृंखलाको अन्तिम खेलमा अमेरिकाविरुद्ध १२२ रनको जित निकालेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४१.२ ओभरमा सबै विकेट गुमाउँदै १९५ रन बनायो । अमेरिकाका सञ्जय कृष्णमुर्तीले ५६ रनको इनिङ खेले । उनले ४४ बलमा समान चार चौका र छक्का प्रहार गरे ।

नोत्थुष केन्जिगेले २९, शायन जहाँगीरले २७, शेहान जयसूर्याले २६, कप्तान साइतेजा मुक्कामल्लाले २२, मिलिन्द कुमारले १२ र सौरभ नेत्रावल्करले १० रन जोडे । आठौँ विकेटका लागि सञ्जय र नोत्थुषबीच ७० रनको साझेदारी भएको थियो । दोस्रो विकेटका निम्ति शायन र शेहानले ५३ रनको साझेदारी गरेका थिए ।

नेपालका लागि सन्दीप लामिछानले तीन विकेट लिए । दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी र गुल्शनकुमार झाले समान दुई विकेट हात पार्दा सोमपाल कामीको नाममा एक विकेट रह्यो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३१७ रनको योगफल खडा गरेको थियो ।

नेपालका इशान पाण्डेले ८४ रनको इनिङ खेले । उनले ८३ बलमा आठ चौका र एक छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले ५९ रनको योगदान गरे । उनले ३६ बलमा समान चार चौका र छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले ४६, आसिफ शेखले ४३ र कुशल भुर्तेलले २९ रन जोडे ।

आरिफ शेख १८ रनमा अविजित रहँदा गुल्शन झाले १५ रन बनाए । तेस्रो विकेटका लागि इशान र रोहितले ११० रनको शतकीय साझेदारी गरेका थिए । पहिलो विकेटका लागि आसिफ र कुशलबीच ६९ रनको साझेदारी भएको थियो ।

अमेरिकाका शुभम रञ्जानेले तीन विकेट लिए । रुसिल उगकर, मिलिन्द कुमारले समान एक विकेट हात पारे । जितसँगै २८ खेलमा २४ अंक जोडेको नेपाल पाँचौँ स्थानमा छ । हारका बाबजुद २८ खेलबाट ३८ जोडेको अमेरिका शीर्ष स्थानमा कायम छ ।