• जेष्ठ ६ २०८३, बुधबार

बौद्ध दर्शन प्रबद्र्धन तथा गुम्बा विकास समितिद्वारा आयोजित धर्मदेशना कार्यक्रम सम्पन्न

जेष्ठ ६ २०८३, बुधबार

काठमाडौं । नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय बौद्ध दर्शन प्रबद्र्धन तथा गुम्बा विकास समितिले आयोजना गरेको दुई दिने धर्मदेशना (प्रवचन) कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । समितिले बौद्ध दर्शन प्रबद्र्धन गर्नकोलागि दुई दिने धर्मदेशना (प्रवचन) कार्यक्रम गरेको हो ।

 

कार्यक्रमका प्रमुख अतिथि श्याल्पा तेन्जिन रिन्पोछेद्वारा मंगल पाठ गरी पहिलो दिनको धर्मदेशना प्रर्वचन सुरु गरिएको थियो। उहाँले धर्मदेशना कार्यक्रममा बोल्दै बुद्ध जन्मेको देशमा भगवान बुद्धको ज्ञान सुन्न पाउनु सबैकालागि शौभाग्य भएको बताउनु भयो । उहाँले बुद्ध जन्मेको देश मात्र नभई बुद्धको दर्शन अध्ययनमनन गर्न पाउनु पनि पूर्व जुनिको पुन्य कर्म भएको बताउनु भयो । हरेक मानिसले बुद्ध दर्शनलाई आत्मा साथ गरेर अगाडि बढ्न सके जीवन एकदमै महत्वपूर्ण हुने धारणा राख्नु भयो साथै बुद्ध दर्शन प्रबद्र्धन तथा गुम्बा विकास समितिले महत्वपूर्ण कार्यक्रम राखेको भन्दै समितिलाई समेत धन्यवाद व्यक्त गर्नु भयो ।

त्यसैगरी गुम्बा विकास समितिका अध्यक्ष खेम्पो मुरी निग्मा कुन्क्याप रोकायाले दुई दिने धर्मदेशना प्रवचन कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रम अवधिभर बसेर धर्मदेशना प्रवचन सुनेर आत्मा साथ गर्दै व्यवहारमा लागु गर्नु पर्ने बताउनु भयो । उहाँले सम्पूर्ण बौद्ध धर्मावलवीहरुको भावनालाई सम्बोधन गर्नपनि सरकारले बौद्ध दर्शन प्रबद्र्धन तथा गुम्बा विकास समिति खारेज गर्न नहुने धारणा राख्नु भयो । उहाँले गुम्बा विकासको प्रर्वद्धन र संरक्षणकोलागि स्थायी आयोग हुनु पर्ने भन्दै सरकारसँग माग समेत गर्नु भयो । अध्यक्ष रोकायाले भन्नु भयो–अब गुम्बा विकास समिति खारेज हुँदैन पक्कै हुँदैन, सरकारले हामी बौद्ध धर्मावलवीहरुको भावनालाई न्याय गर्नु हुनेछ । सरकारले गुम्बा विकास समितिलाई न्याय गरे आफ्नो कार्यकालमा बौद्ध दर्शन प्रर्वद्धनकोलागि वर्ष वर्षमा ठूला कार्यक्रम गर्ने समेत घोषणा गर्नु भयो । विश्वका केही देशहरुमा युद्ध तथा अशान्ति भइरहेको हुँदा विश्वशान्तिका लागि शान्तिको मिसाइल बनाउनु पर्ने धारणा राख्दै विश्वमा शान्ति ल्याउन बुद्धको दर्शनलाई सबैले आत्मा साथ गर्नु पर्ने बताउनु भयो ।

त्यसैगरी दुई दिने धर्मदेशना कार्यक्रममा अतिथि छोग्याल रिन्पोछेद्धारा विशेष प्रवचन भएको थियो । उहाँले धर्मदेशना प्रवचन कार्यक्रममा प्रवचन दिर्दै मानव जीवन पाउनु नै पूर्व जूनिको पुन्य कर्म भएको बताउनु भयो । मानव जातिले पाउने हरेक चोला आफ्नै कर्ममा निहित हुने बताउँदै पूर्व जूनिमा जस्तो कर्म गरयो सोही अनुसार अर्को जुनीमा मानव चोला पाउने बताउनु भयो। उहाँले अरुमाथि दोष थुर्पानु भन्दा आफूले कस्तो कर्म गरिएको छ त्यस माथि निर्भर हुने भन्दै हरेक मावनजातिले असल कर्म गर्नु पर्ने बताउनु भयो। छोग्याल रिन्पोछले भन्नु भयो–हामी सबै बुद्ध बन्न सक्छौ किन कि मानव जीवनमा सम्भावना छ, यति महत्वपूर्ण मानव जीवनलाई हामीले कसरी प्रयोग गर्ने त्यो आफू माथि निर्भर हुन्छ । विगतमा प्राविधिक सुविधा थिएन तर अहिले प्राविधिक सुविधालाई सदुपयोग गर्न सके विश्वमा रहेका गुरुहरुको प्रवचन सुनेर पनि आफूलाई बुद्ध बनाउन सक्छौं, बुद्धले दिएका ज्ञानलाई आफ्नो जीवनमा पालना गर्न सके बुद्ध बन्न सकिन्छ । त्यसैगरी कार्यक्रममा विकासदेव योन्जनद्धारा उत्प्रेरणा सम्बन्धी ज्ञान, आर.के शाक्य तथा दकिला गुरुमाद्वारा प्रवचन दिइएको थियो ।

कार्यक्रममा छोग्याल रिन्पोछेद्वारा बुद्ध अनुवायी तथा सहभागीहरुलाई आर्शीवचन दिनु भएको थियो भने रिन्पोछेद्वारा वाङ अभिषेक पनि दिनु भएको थियो ।

धर्मदेशना कार्यक्रममा नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय बौद्ध दर्शन प्रबद्र्धन तथा गुम्बा विकास समितिका कार्यकारी निर्देशक सुरज घिमिरेद्धारा बौद्ध गुरुहरुलाई धन्यवाद व्यक्त गर्दै सधन्यवाद सहित प्रशंसापत्र प्रदान गरिएको थियो ।

दुई दिनसम्म सञ्चालन भएको कार्यक्रमको अध्यक्ष समितिका अध्यक्ष खेन्पो मुरी निग्मा कुन्क्याप रोकायाले गर्नु भएको थियो । धर्मदेशना कार्यक्रममा अतिथिहरुमा श्याल्पा तेन्जिन रिन्पोछे, समितिका कार्यकारी निर्देशक सुरज घिमिरे, समितिका सदस्य नीर बहादुर घलान (आचार्य छेवाङग रिग्जीन, नेपाल बोन बुद्धिष्ट महासंघका महासचिव इन्द्र रोकाया शेराप, गुरुमा दकिला स्याङतान, वल्र्ड फोरम फर बुद्धिजमका अध्यक्ष आर.के शाक्य, उत्पेरक वक्ता विकासदेव योन्जन, नेपाल बौद्ध महासंघ, बोधिसत्व स्कुल, स्वयम्भुका प्रतिनिधि तथा समितिका प्रतिनिधिहरु, गोलखबर मिडियाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण समितिका कर्मचारी लक्ष्मी रुम्बाले गर्नु भएको हो ।

दुई दिनसम्म सञ्चालन भएको धर्मदेशना (प्रवचन) कार्यक्रम स्वयम्भु स्थित थेग्सुम छुयोइफेलिङ गुम्बामा भएको हो भने कार्यक्रममा सयौंको सहभागीता भएको थियो । कार्यक्रमको स्वागत मन्तब्य नीर बहादुर घनाल (आचार्य छेवाङग रिग्जीन) ले गर्नु भएको हो ।