काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संवैधानिक परिषदको बैठक बोलाएका छन् । आज अपराह्न ५ बजे सिंहदरबारमा बैठक बोलाइएको हो ।
बैठकमा सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस सम्बन्धमा छलफल हुने बताइएको छ ।
संवैधानिक परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शाहको निर्देशनमा बोलाइएको बैठकमा सहभागी हुन सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीमराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश मंगलबार जारी गरे लगत्तै परिषदको बैठक बोलाइएको हो ।
यो अध्यादेश जारी भएसँगै ६ सदस्यीय संवैधानिक परिषद्को बैठक बस्नका लागि गणपूरक संख्या चार कायम गरिएको छ । यो अवस्थामा संवैधानिक परिषद्का तीनजना सदस्यको बहुमतमा प्रधानमन्त्री वालेन्द्र शाहले निर्णय गराउन सक्ने छन् ।