• बैशाख १२ २०८३, शनिबार

१०० रुपैयाँका वस्तुमा भन्सार शुल्क लगाउने बालेन सरकार निर्णयप्रति कांग्रेसकाे आपत्ति

बैशाख ६ २०८३, आईतवार

काठमाडाैं । कांग्रेसले सीमावर्ती क्षेत्रहरूमा १०० रुपैयाँभन्दा बढी मूल्यका घरायसी तथा व्यक्तिगत प्रयोगका वस्तुमा अनिवार्य भन्सार शुल्क लगाउने सरकारी निर्णयप्रति आपत्ति जनाएको छ ।

आइतबार पार्टीले विज्ञप्ति जारी गर्दै यस्तो निर्णयलाई जनविरोधी, अव्यवहारिक र असंवेदनशील भएको टिप्पणी गर्दै वर्तमान आर्थिक संकटकाबीच यसले सर्वसाधारणमाथि थप बोझ थप्ने उल्लेख गरेको छ ।

खुला सीमाको अवस्थाका कारण विशेषगरी : सिमावर्ती क्षेत्रका नागरिकहरूले दैनिक उपभोग्य वस्तु भारतबाट ल्याएर जीवन निर्वाह गर्दै आएको सन्दर्भमा यस निर्णयले प्रत्यक्ष असर पार्ने कांग्रेसको भनाइ छ ।

प्रेस नोटमा डिजेलको मूल्य २३७ रुपैयाँ प्रतिलिटर पुगेको अवस्थामा सानो खरिदमै अतिरिक्त शुल्क लगाउनु जनताको क्रयशक्ति कमजोर पार्ने कदम भएको उल्लेख गरिएको छ ।

साथै, सानो परिमाणमा सामान ल्याउने नागरिकमाथि कडाइ गर्ने तर अन्य माध्यमबाट ठूलो परिमाणमा वस्तु भित्र्याउनेलाई सहजता दिनु न्यायोचित नभएको प्रश्न समेत उठाइएको छ ।

यस्तो नीतिले सीमावर्ती क्षेत्रका नागरिकहरूमा राज्यबाट भेदभाव भएको अनुभूति बढाउने र यसले राष्ट्रिय एकता तथा सामाजिक न्यायमा चुनौती सिर्जना गर्न सक्ने चेतावनी दिएको छ ।

कांग्रेसले सरकारसँग निर्णय तत्काल फिर्ता लिनु वा व्यवहारिक सीमा निर्धारण गर्नु, दैनिक उपभोग्य वस्तुमा भन्सार दर घटाउनु, मधेश प्रदेशका लागि लक्षित राहत प्याकेज ल्याउनु, इन्धन मूल्य नियन्त्रणका लागि पारदर्शी प्रणाली लागू गर्नु र इन्धन आयातमा लाग्ने कर तथा शुल्क घटाउ माग गरेको छ ।

पार्टी प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा जनताको जीवनस्तरको संरक्षण राज्यको प्रमुख प्राथमिकता हुनुपर्ने उल्लेख गर्दै जनजीवनमा थप बोझ पार्ने नीति तत्काल पुनर्विचार गर्न सरकारसँग आग्रह गरिएको छ ।