• बैशाख १२ २०८३, शनिबार

ओली र लेखककाे बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ हुँदै, के उनीहरू रिहा हुँदैछन् ?

चैत्र २२ २०८२, आईतवार

काठमाडाैं । एमाले अध्यक्ष केपी ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकको पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुँदैछ ।

यसअघि अदालतले जारी गरेको ‘कारण देखाऊ’ आदेशको जवाफमा विपक्षीहरूबाट लिखित जवाफ प्राप्त भएपछि आज सुनुवाइ हुन लागेको हो ।

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा घटेका घटनाहरूको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले १४ चैतमा दुवै नेतालाई पक्राउ गरेको थियो । सरकारको यस कदमपछि राजनीतिक वृत्त तरंगित छ ।

पक्राउ परेलगत्तै १५ चैतमा ओलीपत्नी राधिका शाक्यले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् । त्यसैगरी लेखकलाई पनि तत्काल थुनामुक्त गर्न माग गर्दै उनकी पत्नी यशोदा लेखकले छुट्टै रिट निवेदन दर्ता गराएकी थिइन् ।