पोखरा । पर्यटन व्यवसायी कर्ण शाक्यको होटल वाटर फ्रन्टमा पनि डोजर चलेको छ ।
वाटर फ्रन्टको स्विमिङ पुल, गेट लगायत संरचनामा शनिबार विहानै प्रहरीले डोजर चलाएको हो । गृहमन्त्रालयको निर्देशन बमोजिम शनिबार विहानै प्रहरी र स्थानीय सरकारसँग मिलेर डोजर अपरेसन सुरु गरेको छ ।
सर्वोच्च अदालतले पनि उक्त होटल हटाउन छुट्टै आदेश दिएको थियो । अहिले होटलको अरु संरचना भने चलाइएको छैन । ताल किनारबाट ६५ मिटर भित्र परेका कारण ति संरचना भत्काइएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी हरीबहादुर बस्नेतले बताए । ताल किनारमा रहेका खपौंदी, सेदी लगायत क्षेत्रमा डोजर चलाइएको छ ।
त्यस क्रममा केही धनीहरुले अहिले नभत्काइदिन र आफूहरु अवैध नभएको भन्दै जोगाइदिन गुहार मागेका थिए । सूचना समेत जारी नगरी आफ्नो संरचना भत्काएकोमा स्थानीयको अवरोध थियो । तर प्रहरीले चुपचाप डोजर चलायो ।
यसलाई निरन्तरता दिने बताइएको छ । पोखरा महानगरपालिकाले हालसम्म तालको सीमांकन र संरक्षणमा गरेका कामको प्रगती प्रतिवेदन बुधबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई पठाएको थियो ।
अहिले डोजर चलाउने काममा भने संघले स्थानीय र प्रदेश सरकारसँग खासै समन्वय गरेको छैन । तथापि, महानगरले नगर प्रहरी भने खटाएको छ ।
६५ मिटरभित्र कति संरचना पर्छन् भन्ने अध्ययन गरिसकिएको छैन । मेयर धनराज आचार्यले चाहिँ धेरै संरचना र जग्गामा मुआब्जा दिनुपर्ने र यो प्रक्रिया संरचना भत्काएपनि नरोकिने बताए ।
केही दिनअघि मात्रै तालको मापदण्ड कार्यान्वयन सहजीकरण समितिको बैठक बसेर ६५ मिटरभित्रको सीमांकन चैतभित्रै सकेर त्यसबाहेकका जग्गा रोक्का फुकुवा गर्ने निर्णय गरेको छ ।