• जेष्ठ २ २०८३, शनिबार

निर्वाचन आयुक्तमा अनुमोदन नहुने देखिएपछि कृष्णमानले नाम फिर्ता लिन निवेदन दिए

श्रावण १४ २०८१, सोमबार

निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिनका लागि संसद सचिवालयमा निवेदन दिएका छन् । उनको निवेदन संसद सचिवालयमा दर्ता भएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारीले दिए ।

प्रचण्ड सरकारका पालामा संवैधानिक परिषद्ले उनको नाम निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो । संवैधानिक परिषद्ले गरेको सिफारिस संसदको सुनुवाइ समितिले अनुमोदन गर्नुपर्ने प्रावधान रहेको छ । तर, यौन हिंसाको गम्भीर आरोप लागेपछि उनको नाम संसदीय समितिले अस्वीकृत गर्ने सम्भावना बढेको थियो । संसदीय समितिबाट नाम अनुमोदन नहुने देखेपछि प्रधानले आफैँ नाम फिर्ता लिन भन्दै निवेदन दिएका हुन् ।

संवैधानिक परिषद्ले उनको नाम सिफारिस गरेकाले नाम फिर्ता पनि संवैधानिक परिषद्ले नै लिनुपर्ने हुन्छ । तर उनको निवेदन भने संसद सचिवालयमा दर्ता भएको छ ।

सोमबार बिहानका लागि सुनुवाइ समितिको बैठक बोलाइएको थियो । सो बैठकले उनको सिफारिससम्बन्धी निर्णय गर्ने तयारी थियो । तर, प्रधानले समितिका सभापति पशुपतिशमशेर राणासँग समन्वय गरी आफूले नाम फिर्ता लिन निवेदन गर्ने तयारी गरेको भन्दै बैठकको समय सारिदिन आग्रह गरेका थिए । त्यसपछि समितिको बैठक सोमबार अपराह्न पाँच बजेका लागि सारिएको थियो ।