• असार १९ २०८३, शुक्रबार

सिमलताल पहिरोः बस खोज्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक भेटियो

श्रावण १४ २०८१, सोमबार

सिमलताल दुर्घटनामा बेपत्ता बसको खोजी गर्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक (म्याग्नेट) फेला परेको छ । बस खोजी गर्ने क्रममा गत शनिबार १९ किलोको चुम्बक र लाइफ ब्वाई ट्युब त्रिशूली नदीले बगाएर हराएको थियो ।

उक्त चुम्बक आज बिहान काभ्रेघाटस्थित नारायणी नदीमा फेला परेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । चुम्बकसँगै लाइफ ब्वाई ट्युब पनि फेला परेको उनले बताए ।

गत असार २८ मा वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा बेपत्ता भएका थिए ।

बसमा सवार ६५ जनामध्ये तीन जना हामफालेर बाँच्न सफल भएका थिए भने ६२ जना बेपत्ता भएका थिए । हालसम्म २४ जनाको शव भेटिएको छ । तीमध्ये १८ जनाको पहिचान खुलेर परिवारलाई बुझाइसकिएको छ । अन्य ६ शवको पहिचान खुल्न सकेको छैन । अझै ३८ यात्रु र बस भेटिएका छैनन् ।

हराइरहेको बस खोज्न भारतीय टोली चितवन आएका थिए । उक्त टोलीले बस खोज्नका लागि १९ र १४ किलोका दुईवटा चुम्बक (म्याग्नेट) ल्याएका थिए । जसमध्ये शनिबार बस खोज्ने क्रममा १९ किलोको चुम्बक हराएको थियो । बस खोजी गर्नका लागि नेपाल आएको भारतीय टोली भने आइतबार नै फर्किसकेको छ ।