काठमाडौं । पोखरामा सोमबार बिहान दुर्घटना भएको स्कुल बसमा सवार दुई जनाको मृत्यु भएको छ । दुर्घटना भएको एल.पी देवकोटा स्कुलको बसमा सवार आमा–छोराको मृत्यु भएको हो ।
विद्यालयकी कार्यालय सहयोगी रहेकी ३३ वर्षीय आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विकको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । उनीहरू दुवै पोखरा–२१, रामदीका बासिन्दा हुन् ।
ग १ क ६२१९ नम्बरको बस पोखरा–२१ रामदीबाट पोखरा–१७ स्थित विद्यालयतर्फ विद्यार्थी लिएर फर्किँदै गर्दा अनियन्त्रित भएको थियो । बसमा चालकसहित ३० जना सवार रहेकोमा बाँकी २८ जना घाइते छन् ।
घाइतेमध्ये १३ जनाको गण्डकी मेडिकल कलेज, १२ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र ३ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
उक्त बसमा विद्यार्थी, अभिभावक र छिमेकी सरकारी स्कुलमा पढ्ने विद्यार्थी सवार रहेको खुलेको छ । बस घुम्तीबाट ५० मिटर तल खसेको डीएसपी शर्माले जानकारी दिए ।