काठमाडाैँ । दुर्घटनामा परेका सौर्य एयरलाइन्सका घाइते क्याप्नेट मनीष शाक्यको स्वास्थ्यमा सुधार भएको छ । स्वास्थ्यमा सुधार आएपछि उनलाई सिनामंगलस्थित केएमसी अस्पतालको सघन कक्ष (आईसीयू) बाट बाहिर निकालिएको छ ।
बुधबार भएको दुर्घटनामा विमानमा रहेका १९ जनामध्ये उनी मात्र जीवित रहेका छन् । उनलाई बिहीबार साँझै आईसीयूबाट बाहिर निकालिएको अस्पतालले जनाएको छ ।
शाक्यको अनुहार, आँखा, नाक, टाउकोमा चोट लागेको छ भने ढाडको एउटा हड्डी भाँचिएको छ । यस्तै बायाँतर्फका ३ वटा करंगहरू भाँचिएका छन् ।
बोल्न सक्ने अवस्थामा रहेका शाक्यले डाक्टरसँग विमान दुर्घटनाबारे महत्वपूर्ण जानकारी दिएका थिए । उनले विमान ५0 देखि १00 फिट माथि पुगेपछि नियन्त्रणमा लिन नसकेको बताएका थिए ।