साउन ६, काठमाडौँ । पूर्वराज्यमन्त्री रामचन्द्र रायको गोली हानी हत्या गरिएको छ । प्रहरीका अनुसार राय आफ्नै एक तल्ले पक्की घरको सुत्ने कोठामा मृत फेला परेका थिए । उनको टाउकोको बायाँ पट्टी भागमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ । उनको शव सुत्ने खाटको छेउमा उत्तानो अवस्थामा रहेको थियो ।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ । सोमबार बिहानै धनुषा लालगढबाट कुकुरसहितको टोली घटना स्थलमा आइपुगेको छ । त्यस्तै मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक यज्ञविनोद पोखरेलको टोली पनि घटनास्थलमा पुगेको छ । सोही हत्या सम्बन्धमा सोधपुछका लागि एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाही निवासी राज्यमन्त्री रायको गएराति चन्द्रनगरस्थित आफ्नै निवासमा हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवं एसपी रविन्द्रबहादुर सिंहका अनुसार रायकै घरमा काम गर्ने एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो ।
प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएका ती व्यक्ति पनि सोही घरमा राति सुतेका थिए । ती व्यक्तिले राति नै झाको हत्या भएकोबारे आफन्तलाई जानकारी गराएको बताइएको छ ।
हत्यामा कसको संलग्नता छ र के कारणले हत्या भएको हो भन्ने प्रस्ट भइसकेको छैन । घटनास्थलमा प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ भने पोस्टमार्टमका लागि शवलाई मलंगवा पठाइएको प्रहरीले जनाएको छ ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार राज्यमन्त्री रायको हत्यामा घरेलु हतियार प्रयोग भएको देखिन्छ ।