• जेष्ठ २ २०८३, शनिबार

छोराबुहारीले जंगलमा छाडिदिएका वृद्ध बुवालाई वनकर्मीले गरे उद्धार

श्रावण १ २०८१, मंगलवार

विराटनगर । मोरङको बेलबारीमा आफ्नै छोराबुहारीले मध्यजंगलमा लगेर छाडिदिएका एक वृद्धलाई वनकर्मीले उद्धार गरेका छन् । बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट मंगलबार ७० वर्षीय जामुनलाल झांगडलाई चार दिनपछि उद्धार गरिएको हो । हेरालु टोलीले वनबाट उद्धार गरी अस्पताल भर्ना गराएका छन् ।

वन समितिका अध्यक्ष दिनेश गिरीले वृद्धको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको बताए । उनले भने, ‘चार दिन अगाडि नै बीच जंगलमा लगेर छाडिदिएका रहेछन् ।

वन क्षेत्र निगरानीमा गएका साथीहरूले फेला पारी लिएर आउनु भएछ । मोटरसाइकलमा बसाएर बीच जंगलमा लगेर छाडिदिएका रहेछन् ।’ वृद्धको शरीरको भागमा चोट देखिएको र उनी धेरै बोल्न नसक्ने अवस्थामा रहेको बताए ।

बेलबारी नगरपालिका–७, डांगी टोलमा बस्दै आएका वृद्धका छोराबुहारीको खोजी भइरहेको वडाध्यक्ष सुनिता चौधरीले बताइन् । ‘के कसरी घटना भएको रहेछ भनी सोधीखोजी सुरु गरेका छौँ,’ उनले भनिन्, ‘अस्पतालमा उहाँ इन्तु न चिन्तु अवस्थामा हुनुहुन्छ । शरीर निकै कमजोर देखिन्छ ।’ वन अध्यक्ष गिरीले घटनाबारे प्रहरीलाई जानकारी गराइएको बताए ।