• जेष्ठ २ २०८३, शनिबार

त्रिशुली नदीमा बस खस्दा बेपत्ता भएका ऋषिपाल साहको शव फेला

असार २९ २०८१, शनिबार

नारायणगढ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट त्रिशुली नदीमा बस खस्दा बेपत्ता भएका एक जनाको शव फेला परेको छ । शनिबार बिहान भरतपुर महानगरपालिका–२८, गोलाघाटस्थित नारायणी नदी किनारमा ऋषिपाल साहको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालका अनुसार मृतक घोप्टो परेको र आधा शरीर बालुवामा गाडिएको अवस्थामा भेटिएका हुन् । साहको साथमा रहेको ग्लोबल आइएमई बैंकको भिसा डेविट कार्डबाट नाम खुलेको प्रहरीले जनाएको छ ।

साह कुन बसमा सवार थिए भन्नेबारे खुल्न सकेको छैन । शव प्रहरीले पोष्टमार्टमका लागि जिल्ला अस्पताल भरतपुर पठाएको छ । सशस्त्र प्रहरीले सोनार र वाटर ड्रोन क्यामेराको प्रयोग गरेर सिमलतालबाट त्रिशुली नदीमा खसेका दुई बस र यात्रुको खोजी गरिरहेको छ ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सोनार, वाटर ड्रोन क्यामेरा र पाइपलाइन इन्सपेक्सन सिस्टमसहित नदीमा बेपत्ता भएकाहरूको खोजी गर्न सुरु गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट (जना गोताखोरसहित २५ जना र १७ नम्बर गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ३५ जनाको सुरक्षा फौज बेपत्ता भएकाहरूको खोजी शनिबार बिहानदेखि फेरि सुरु गरेको डीएसपी थापाले बताए । उनीहरूलाई सहयोग गर्न नेपाली सेना र नेपाल प्रहरी पनि खटिएका छन् ।