काठमाडौं । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै आज बिहान पहिरो खस्दा राजमार्गमा दुईतर्फी नै यातायात आवागमन रोकिएको थियो ।
अहिले पहिरो पन्छाइ एकतर्फी यातायात सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् ।उनका अनुसार आवागमन दुईतर्फी नै सञ्चालन गर्न अझै केही समय लाग्छ ।
निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिइन् । सडक अवरूद्ध हुँदा रोकिएका सवारी साधनहरूलाई एक तर्फी खुलेपछि गन्तब्यतर्फ पठाइएको छ ।