काठमाडौं । काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ । २४ घण्टामा काठमाडौं उपत्यकामा भारी वर्षा मापन भएको हो । कीर्तिपुरमा १०७.२ मिलिमिटर वर्षा भइसकेको छ । नैकापमा १०३.४ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कपनमा ६२.२ मिलिमिटर वर्ष भएको छ ।
टीकाथलीमा ८३.४, बबरमहलमा ७५ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै काठमाडौं उपत्यकामा लेलेमा १३८ मिलिमिटर वर्षा भइसकेको छ । ‘अहिले पनि काठमाडौंका धेरै स्थानमा वर्षा भइरहेको छ,’ मौसमविद् रोजन लामिछानेले भने, ‘लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा अति भारी वर्षा भइसकेको छ ।’
काठमाडौंमा शुक्रबार रातिदेखि वर्षा भइरहेको छ । काठमाडौं उपत्यकाका वाग्मती, विष्णुमती नदीमा बाढी आएको छ । नदी छेउका बस्तीहरूमा सतर्क रहन आग्रह गरिएको छ । ललितपुरका धापाखेल, शंखमुललगायतका नदी किनार छेउका सुकुम्बासी बस्तीमा बाढीले जनजीवन प्रभावित भएको छ । नदी छेउका सडकहरू डुबानमा परेका छन् ।