• असार २४ २०८१, आईतवार

मन्थली–खिम्ति सडकमा गरिएको कालोपत्र १५ दिन नबित्दै उप्कियो

असार २० २०८१, बुधबार

मन्थली ।  रामेछापस्थित मन्थली–खिम्ति सडकअन्तर्गत हालै गरिएको कालोपत्र उप्किन थालेको छ । मन्थली बजारस्थित देवकोटा चोकमा १५ दिनअघि मात्र गरिएको कालोपत्र उत्किसकेको छ ।

विद्यालय र कार्यालय समयमा दैनिक भीडभाड हुने यस चोकमा भित्ता काटेर सडक विस्तार तथा कालोपत्र गरिएको थियो । यहाँ गोलन्जोर कन्स्ट्रक्सनले काम गरेको थियो ।

असारको समयमा चाँडै काम सकेर भुक्तानी लिन हतार गर्दा समस्या भएको स्थानीय एवं निवर्तमान वडा अध्यक्ष नारायणदास श्रेष्ठले बताए । ‘चाँडै काम सकेर भुक्तानी लिने बहानामा गुणस्तरलाई ध्यान दिइएन छ, त्यसै कारण समस्या भयो । मुख्य चोकमै यति धेरै कमसल काम भएपछि अन्य ठाउँको अवस्था के होला ?’, उनले प्रश्न गरे ।

सडकका अन्य ठाउँमा पनि कालोपत्र उप्किएको छ । स्थानीय लालप्रसाद पोखरेलले लिखुतामाकोशी गाउँपालिका–६ को  खिम्ती  (तल्लो) बजारमा गरिएको कालोपत्रमा पनि उप्किन लागेको बताए । यहाँ १० मिटरभन्दा बढी सडकको कालोपत्र उप्किसकेको उनले जानकारी दिए ।

वडा अध्यक्ष शिवप्रसाद न्यौपानेले आवश्यक मापदण्ड पूरा गरी नगरी हिलो माटोमाथि नै कालोपत्र गरिएकाले चाँडै नै भत्किएको बताए । निर्माण कम्पनीलाई भत्किएका ठाउँमा फेरि कालोपत्र गर्न लगाइएको  छ ।

अध्यक्ष न्यौपानेले भने, ‘निर्माण व्यवसायीले सडक मर्मतमा गुणस्तरीय काम गर्न गरेन, हिलो माटोमाथि नै कालोपत्र गरिएपछि यस्तो समस्या भयो । काम गरिरहेकै बेला हामीले ध्यानाकर्षण गराएकै थियौँ, अटेर गरेपछि अहिले त्यसको परिणाम देखियो । १५ दिनमै कालोपत्र उप्किनुले चरम लापरवाही प्रष्ट भएको छ ।’

सडक डिभिजन कार्यालय सिन्धुलीका इन्जिनियर सन्देशराज ढुङ्गेलले निर्माण व्यवसायीले गुणस्तरहीन काम गरेकाले समस्या भएको र आवश्यक परीक्षण गरी चाँडै मर्मतको काम गर्न लगाइने बताए ।

‘कालोपत्रको काम गुणस्तरीय र मापदण्डअनुसार नभएकाले यस्तो समस्या आयो, अब चाँडै नै आवश्यक कारबाही अगाडि बढाउँछौँ । व्यवसायीलाई पुनः आवश्यक मापदण्डसहित कालोपत्र गर्न लगाउने तयारी भइरहेको छ’, इन्जिनियर ढुङ्गेलले भने ।